
झापा । इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) का पहिलो अश्वेत रेफ्री उरियाह रेनीको ६५ वर्षको उमेरमा निधन भएको छ । रेनीले सन् १९९७ देखि २००८ सम्म ३ सय वटाभन्दा धेरै खेलमा रेफ्रीको भूमिका निभाएका थिए जसमा ईपीएलका १७५ वटा खेल पनि समावेश थिए ।
बेलायतको शेफिल्ड र हलमशायर काउन्टी फुटबल सङ्घले विज्ञप्ति निकालेर पूर्वअध्यक्ष एवम् अग्रणी रेफ्री उरियाह रेनीको निधनप्रति दुःख व्यक्त गरेको छ ।
रेनीले प्रिमियर लिगको पहिलो अश्वेत रेफ्रीको रूपमा इतिहास रच्दै अवरोधहरू तोडेका र फुटबल समुदायलाई आकार दिएका विज्ञप्तिमा उल्लेख छ ।
जमैकामा जन्मेका उरियाह रेनी बाल्यकालमा शेफिल्ड सरे र शहरको वाइबोर्न क्षेत्रमा हुर्किए । उनले सन् १९७९ मा स्थानीय फुटबलमा रेफ्रीका रूपमा काम गर्न थालेका थिए र १९९७ मा डर्बी काउन्टी र विम्बल्डन बीचको खेलमा रेफ्रीको भूमिका निभाउँदा इतिहास रचेका थिए ।
रेनीले व्यवसाय प्रशासन र कानूनमा स्नातकोत्तर अध्ययन गरेका थिए । यस्तै सन् २०२३ को नोभेम्बरमा खेलकुदमा उनको विशिष्ट योगदान र दक्षिण योर्कशायर समुदायहरूसँगको उनको कामका लागि शेफिल्ड हलम विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको थियो ।