
झापा । भारतको राजधानी नयाँदिल्लीमा पानीको चरम अभाव भएको छ । पानी अभावसँगै नागरिक महँगो मूल्य तिर्न बाध्य भएका छन् ।
सरकारले जडान गरेका धारामा पानी नआउँदा दिल्लीबासी महँगो मूल्यमा पानी किन्नुपर्ने बाध्यतामा परेका हुन् । साथै उनीहरुले कमाइको १० प्रतिशत पैसा पानी किन्नमै खर्च हुने गरेको दुःखेसो पोखेका बीबीसी हिन्दीले जनाएको छ ।
दिल्लीले भाक्रा व्यास व्यवस्थापन बोर्ड (बीबीएमबी) मार्फत पाइपलाइनमा आउने पानीमा कटौतीको सामना गर्नुपरेको छ । नयाँदिल्ली जनसङ्ख्याका हिसाबले भारतको सबभन्दा ठूलो शहर हो । सन् २०११ को जनगणनाअनुसार दिल्लीको जनसङ्ख्या डेढ करोडभन्दा धेरै थियो र यो निरन्तर बढ्दो छ ।
दिल्लीबासीलाई हरेक दिन झन्डै एक सय २९ करोड ग्यालन पानीको आवश्यकता पर्ने दिल्लीको खानेपानी बोर्डको अनुमान छ । तर, पुगनपुग एक करोड ग्यालन मात्रै आपूर्ति भइरहेको छ । दिल्लीमा अहिले दैनिक ३० करोड ग्यालन पानी अपुग छ ।
आवश्यकताअनुसार आपूर्ति नहुँदा दिल्लीको जनसङ्ख्याको ठूलो हिस्सा नराम्ररी प्रभावित भइरहेको छ । सरकारले वितरणको गरेको खानेपानीको पाइपबाट वा ट्याङ्करबाट किन्न मिल्ने पानीमा समेत पहुँच नभएकाहरुले निकै कष्टकर भोग्नु परेको छ । वितरण हुने पानीका लागि उपभोक्ताले निक्कै सास्ती खेप्नुपरेको छ ।
काउन्सिल अन एनर्जी, इन्भाइरोमेन्ट एण्ड वाटरका वरिष्ठ कार्यक्रम प्रमुख नितिन बस्सीका अनुसार दिल्लीको जल सङ्कटसँग लड्न दृष्टिकोण बदल्नुपर्ने आवश्यकता छ ।
पिउनेबाहेक सरसफाइ, निर्माण कार्यलगायतमा फिल्टर गरिएको फोहोर पानी प्रयोग गर्न सकिने उनको सुझाव रहेको बीबीसी हिन्दीले जनाएको छ । पानीको बढ्दो सङ्कटसँग जुध्न पानीप्रतिको दृष्टिकोण र दैनिक आनीबानीमा परिवर्तन नै आवश्यक भएको विज्ञहरु बताउँछन् ।