२०८२ जेठ २४, शनिवार , ०९:४०:०३ बजे

Sajhamanch
'

बिर्तामोडमा तीन दिवसीय विज्ञान प्रविधि प्रदर्शनीको पूर्वराष्ट्रपति भण्डारीद्वारा समुद्घाटन

शनिवार, जेठ २४, २०८२

झापा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सबै क्षेत्रमा विज्ञान तथा प्रविधि निर्णायक बन्दै गएको बताएकी छन् ।

झापाको बिर्तामोडमा आजदेखि सुरु भएको कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको समुद्घाटन पछि मन्तब्य व्यक्त गर्दै उनले वैज्ञानिक दृष्टिकोणबाट समृद्धि हासिल गर्न सकिने बताएकी हुन् ।

नेकपा एमाले कोशी प्रदेशको विज्ञान तथा प्रविधि विभागले आयोजना गरेको प्रदर्शनीमा बोल्दै पूर्व राष्ट्रपति भण्डारीले परिवर्तनको आधार नै विज्ञान प्रविधि भएकाले सामाजिक, राजनीतिक, निजी क्षेत्र र राज्य पक्षले यसमा लगानीलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याइन् ।

नेपाली विद्यार्थीहरुलाई विज्ञान तथा प्रविधिमा दक्ष बनाएर विश्वस्तरीय प्रतिष्पर्धी बनाउन आवश्यक रहेको भन्दै पूर्व राष्ट्रपति भण्डारीले विज्ञान प्रदर्शनीजस्ता कार्यक्रमहरु आयोजना गर्न जरुरी रहेको धारणा राखिन् ।

विज्ञान तथा प्रविधिमा दक्ष बनाउने हामी सबैको दायित्व हो, उनले भनिन्, ‘विज्ञानलाई प्रयोगशालामा मात्र सिमित गर्न हुँदैन, यसलाई विकाससँग जोडेर लैजानुपर्छ ।’

विद्यालय तहबाटै विद्यार्थीहरुलाई वैज्ञानिक सोच र प्रविधिमा रुची जगाउन आवश्यक रहेको बताउँदै उनले शिक्षामा भौतिकसँगै प्रविधिमा लगानी गर्न आवश्यक रहेकोमा जोड दिइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले आजका बालबालिकाहरुलाई पाठ्यक्रममा मात्र सिमित बनाउन नहुने धारणा व्यक्त गरेकी थिइन् ।

बालबालिकाहरुलाई वैज्ञानिक दृष्टिकोणबाट सोच्न सक्ने बनाए मात्रै मुलुकको समृद्धि संभव हुने उनको भनाई थियो ।

बिर्तामोडस्थित देवी माविको प्राङगणमा जेठ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितात्मक विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन समारोहमा नेकपा एमाले स्थायी कमिटीका सदस्य तथा कोशी प्रदेशका इञ्चार्ज शेरधन राई, कोशी प्रदेशका सचिव राजकुमार भण्डारी, देवी माविको प्रधानाध्यापक अम्बिका श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा पार्टीका विभिन्न तहका नेतृत्वहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको अध्यक्षता गरिरहेका आयोजक विभागका प्रमुख गणेश पोखरलले प्रदर्शनीमा प्रथम हुने विद्यालयले चार लाख, दोस्रो हुनेले तीन लाख, तेस्रो हुनेले दुई लाख र सान्त्वना हुनेले एक लाख नगद पुरस्कार प्राप्त गर्ने जानकारी दिए । यस्तै प्रदर्शनीमा उत्कृष्ट २५ वटा विद्यालयलाई २५ हजार रुपैयाँका दरले सान्त्वना पुरस्कार प्रदान गरिने उनको भनाई छ ।

प्रदर्शनीमा १२ जिल्लाका ७५ वटा विद्यालय सहभागी भएका छन् । विद्यालयहरुले स्टलमार्फत विज्ञान प्रदर्शनी गरिरहेका छन् भने विद्यार्थी र सहभागी शैक्षिक सरोकारवाला, पार्टी नेतृत्वहरुले अवलोकन गरिरहेका छन् ।

पूर्व राष्ट्रपति भण्डारीले विज्ञान र प्रविधि सिक्दै गरेका बालबालिकाले बनाएका सामग्रीहरु रुचिप्रर्वक अवलोकन गर्दै सो विषयमा जानकारी लिएकी थिइन् ।

सम्बन्धित खबर