
झापा । अमेरिकी सङ्घीय न्यायाधीश एलिसन बुरोजले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई हार्वर्ड विश्वविद्यालयमा पढ्न अनुमति नदिने ट्रम्प प्रशासनको निर्णयलाई अस्थायी रूपमा रोक लगाएका छन् ।
म्यासाचुसेट्सका न्यायाधीश एलिसन बुरोजले यदि प्रतिबन्ध लागू भएमा अमेरिकाको सबैभन्दा पुरानो विश्वविद्यालयले तत्काल र उल्लेखनीय क्षति भोग्न सक्ने बताएको बीबीसीले जनाएको छ ।
यो निर्णय हार्वर्डले हिजो अदालतमा दायर गरेको मुद्दाका आधारमा आएको हो । हार्वर्ड विश्वविद्यालयले ट्रम्प प्रशासनले जानाजानी आफूहरूलाई लक्षित गरिरहेको र आफूहरूको अभिव्यक्ति स्वतन्त्रतालाई दबाउन खोजिरहेको आरोप लगाएको थियो ।
यसैबीच राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको सुरक्षाका लागि यो प्रतिबन्ध आवश्यक रहेको बताएका छन् । ट्रम्पले हार्वर्डले क्याम्पसमा यहूदी विरोधी गतिविधिहरू रोक्न पर्याप्त काम नगरेको आरोप पनि लगाएका छन् ।