
झापा । इजरायलले लेबनानको बेरुत शहरको दक्षिणी क्षेत्रहरूमा हवाई आक्रमण गरेको छ । विद्रोही समूह हिज्बुल्लाहको ड्रोन उत्पादन गर्ने आधारहरूलाई निशाना बनाएर गएराति आक्रमण गरेको इजरायलले दाबी गरेको छ ।
यो ईद–उल–अजहाको पर्वको अघिल्लो दिन गरिएको यो आक्रमण अघि, मानिसहरूलाई यो क्षेत्र खाली गर्न चेतावनी दिइएको बीबीसीले जनाएको छ ।
बेरुतमा यो क्षेत्रलाई हिज्बुल्लाहको गढ मानिन्छ । इजरायली रक्षा बलले यो क्षेत्रमा जमिनमुनि हजारौं ड्रोन बनाउँदै गरेको भेटिएपछि त्यहाँँ आक्रमण गरेको दाबी गरेको छ ।
इजरायल र हिज्बुल्लाहबीच पछिल्लो ६ महिनादेखि युद्धविराम भएको समयमा यो आक्रमण भएको भन्दै लेबनानका प्रधानमन्त्री नवाफ सलामले आक्रमणको निन्दा गरेका छन् ।
चाडपर्व र पर्यटकीय मौसमको ठीक अगाडि इजरायलले आफ्नो देशको सुरक्षा, स्थिरता र अर्थतन्त्रमाथि सुनियोजित आक्रमण गरेको उनको भनाइ छ । यस्तै लेबनानका राष्ट्रपति जोसेफ आउनले पनि यी आक्रमणहरूलाई अन्तर्राष्ट्रिय सम्झौताहरूको उल्लङ्घन भनेका छन् ।