
काठमाडौं । सभामुख देवराज घिमिरेले संसद् चल्न नसक्दा विधेयकहरू अड्किएको बताएका छन् । डिप्लोमा इन्जिनियर्स एशोसिएशन, नेपाल (डीन) को ४५ औँ वार्षिकोत्सव तथा विश्व वातावरण दिवसको अवसरमा शुक्रवार ललितपुरमा आयोजित “जलवायु परिवर्तन, प्लास्टिक र विश्वव्यापी वातावरण” विषयक कार्यशालामा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले विभिन्न विधेयकहरूलाई कानुनको रूप दिन आफूहरू तल्लीन रहेको बताउँदै संसद् नै चल्न नसक्ने परिस्थिति निर्माण हुँदा समस्या भएको बताए । संसद् चल्न नसक्दा सङ्घीय निजामती सेवा ऐन, विद्यालय शिक्षा सम्बन्धी ऐन लगायतका ऐनहरू अड्किएर बसेको उनले जिकिर गरे ।
संसद्मा विधेयकहरू अड्किने परिवेश र परिस्थिति अन्त्यको लागि सबैले भूमिका निर्वाह गर्नुपर्ने भन्दै उनले सभामुख घिमिरेले कानुन बनाउने, कानुन कार्यान्वयन गर्ने संस्थालाई नियमन गर्ने र सरकारलाई प्रभावकारी बनाउने सर्वोच्च निकायलाई नियमित सञ्चालन गर्ने विधिको बारेमा सोच्न जरुरी रहेको धारणा राखे ।
उनले कार्बन उत्सर्जन गर्ने कामहरूलाई नियन्त्रण गर्न तत्कालै नलागे भविष्यको मात्रै नभएर वर्तमानकै जीवन गम्भीर बन्ने उल्लेख गरे ।