
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ३ बिर्ताबजारमा आज राति जंगली हात्ती आएर पब्लिक क्याम्पसको गेट र एउटा घरमा क्षति पुर्याएको छ ।
शहरको बीचमा रहेको बिर्ताबजार जंगली जनावर हत्तपत्त आइनपुग्ने ठाउँ हो । तर आज राति बिर्तामोडमा देखिएको जंगली हात्ती धपाउने क्रममा बिर्ताबजार पुगेको पाइएको छ ।
साइरनयुक्त प्रहरी भ्यान र स्थानीयबासीले धपाउँदै लैजाँदा हात्ती घेरिएर भाग्ने ठाउँ नपाए पछि बिर्ताबजारस्थित अनारमनी पब्लिक क्याम्पसको गेट भत्काएर भित्र छिरेको क्याम्पस प्रमुख मोहन शिवाकोटीको भनाई छ ।
बिर्तामोड नगरपालिका कार्यालय अगाडि रहेको पब्लिक क्याम्पसको उत्तर गेट भत्काएर हात्ती कम्पाउण्डमा छिरेको र निस्कने क्रममा सोही गेटबाट पश्चिमतर्फको बस्तीमा पसेर मनिका माझीको घर भत्काएको क्याम्पस प्रमुख मोहन शिवाकोटीले बताएका छन् ।
सो घटनाबाट कुनै मानवीय क्षति नभए पनि चन्दा खोजेर चलाइँदै गरेको सामुदायिक क्याम्पसको फलामे गेट भत्काएकाले ठूलो नोक्सानी पुगेको र स्थानीय निम्नवर्गीय परिवारको बास नै टुटेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष डा. लक्ष्मी मैनालीले बताएका छन् ।
क्याम्पस प्रमुख शिवाकोटी र सञ्चालक समितिका अध्यक्ष डा. मैनालीले स्थानीय सरकारसहित सरोकारवाला निकायले शीघ्र अनुगमन गरी क्षतिको मूल्यांकन गर्न र क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् ।
सोहीक्रममा नगरप्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, ३ नं. वडाका वडाध्यक्ष मदन बुढाथोकी, नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष सुवास भट्टराई, वडा नम्बर ३ का वडासदस्य हरि बाँस्कोटा लगायतले घटनास्थल पुगेर अनुगमन गरेका छन् ।
हेर्नुहोस् तस्वीरहरु :