
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० स्थित बालनिकुञ्ज माध्यमिक विद्यालयमा स्व. लोकबहादुर कार्कीको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ ।
विद्यालयमा बिहीबार आयोजित एक कार्यक्रमका विच अक्षयकोष दाता कार्की परिवारको तर्फबाट विद्यालयमा ५ लाख ५५ हजार ५५५ रुपैयाँको अक्षयकोष स्थापना गरिएको हो ।
दाता विष्णुमाया कार्की र परिवारको तर्फबाट उक्त रकम बराबरको चेक विद्यालयका प्रधानाध्यापक भवानीप्रसाद थापा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर थापालाई हस्तान्तरण गरिएको छ।
दाता परिवारको तर्फबाट बोल्दै देवराज कार्कीले कोषको व्याजबाट आउने १० प्रतिशत रकम हरेक वर्ष मुलकोषमा थप गरिने र कोषलाई हरेक वर्ष वृद्धि गर्दै लैजाने उदेश्य रहेको जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्री एकराज कार्कीले अक्षयकोष स्थापना गर्नु कार्की परिवारको तर्फबाट महत्वपुर्ण काम भएको भन्दै प्रशंसा गरे ।
कोषको ९० प्रतिशत व्याज रकमले छात्रवृतिको साथै दीर्घरोगी विद्यार्थीलाई समेत सघाउ पुर्याउने लक्ष लिएको प्रति प्रशंसा पनि गरेका थिए । अभिभावक, विद्यालय व्यवस्थापन समिति र शिक्षकको मेहनतले नै सामुदायिक विद्यालयमा सुधार आउने उनको धारणा थियो ।
अक्षयकोष स्थापना तथा घोषणा कार्यक्रममा राष्ट्रिय सभाका पूर्व सदस्य हरिचरण शिवाकोटी, शिवसताक्षी नगरपालिकाका पूर्व नगरप्रमुख चन्द्रकुमार शेर्मा र बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले अक्षयकोष स्थापनाको प्रशंसा गर्दै शुभकामना व्यक्त गरेका थिए ।
बालनिकुञ्ज माध्यमिक विद्यालयमा योसंगै अक्षयकोष स्थापनाको संख्या नौ पुगेको जनाइएको छ ।