२०८२ जेठ २२, बिहिवार , ०४:०१:५२ बजे

Sajhamanch
'

विज्ञान तथा प्रविधि प्रदर्शनीको तयारी पूरा, पूर्व राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

बुधवार, जेठ २१, २०८२

झापा । नेकपा एमाले स्थायी कमिटीका सदस्य तथा कोशी प्रदेशका इन्चार्ज शेरधन राईले प्रविधिको उपयोग बिना समृद्धिको लक्ष्य पूरा नहुने भएकाले समृद्धिको एउटा खम्बा विज्ञान प्रविधि प्रदर्शनी गर्न लागिएको बताएका छन् ।

झापाको बिर्तामोडमा जेठ २४ गतेदेखि हुन लागेको तीन दिवसीय कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको तयारी बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

नेकपा एमाले कोशी प्रदेश कमिटी विज्ञान तथा प्रविधि विभागको आयोजनामा हुन लागेको प्रदर्शनीबाट समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न मद्धत पुग्ने उनको भनाई छ । “यो नेकपा एमालेको जीवनमा ऐतिहासिक र वृहत विज्ञान तथा प्रविधि प्रदर्शनी हो जसले पार्टीको आन्तरिक जीवन सक्रिय बनाउन मद्धत गरेको छ” नेता राईले बताए ।

कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहेका एमाले नेता राईले उक्त प्रदर्शनीलाई नेकपा एमाले पंक्तिले मात्र होइन सिंगो प्रदेशबासीले अवलोकन गर्नुपर्ने गरी साझा सपना र महत्व बोकेको बताए ।

पत्रकार सम्मेलनको अध्यक्षता गरिरहेका नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य एवम् विज्ञान तथा प्रविधि विभाग प्रमुख गणेश पोखरेलले प्रदर्शनी आयोजनाको तयारी लगभग पूरा भएको जानकारी दिए ।

प्रतियोगितात्मक प्रदर्शनी, अप्रतियोगी प्रदर्शनी एवम् स्वयम्सेवी संस्थाहरुको गरी १२५ वटा स्टल तयार गरिएको पोखरेलले बताए । कोशी प्रदेशबाट १२ जिल्लाका ७० वटा विद्यालयले प्रतियोगिताका सहभागी हुन नाम दर्ता गराइसकेको जानकारी दिँदै विभागीय प्रमुख पोखरेलले उत्कृष्टहरुले पुरस्कार पनि प्राप्त गर्ने बताएका छन् ।

उनका अनुसार प्रथम पुरस्कार ४ लाख रुपैयाँ, दोस्रो पुरस्कार ३ लाख रुपैयाँ, तेस्रो पुरस्कार २ लाख रुपैयाँ र चौथो पुरस्कार १ लाख रुपैयाँ तथा २५ वटा विद्यालयलाई २५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिने छ ।

कोशी प्रदेशका १४ मध्ये १२ वटा जिल्लाबाट सहभागिताका लागि सुनिश्चित भएको र झापाका ३९६ वटा माद्यमिक विद्यालयलाई पत्राचार नै गरिएको जनाइएको छ ।

प्रदर्शनीको उद्घाटन जेठ २४ गते बिहान ११ बजे पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने तय भएको छ । प्रदर्शनी अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको विभागीय प्रमुख पोखरेलले जानकारी दिएका छन् ।

उक्त अवधिभर विज्ञान तथा प्रविधि सम्बन्धी छलफल, अन्तरक्रिया एवम् विज्ञहरुबाट मन्तब्य सुन्न पाइने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । आयोजनाको कूल लागत ४४ लाख ५० हजार रुपैयाँ अनुमान गरिएको जनाइएको छ ।