
झापा । रुस र युक्रेनबीचको दोस्रो चरणको प्रत्यक्ष शान्ति वार्तामा कैदी आदानप्रदानको सहमति भएको छ । तर युद्धविरामको विषयमा ठोस उपलब्धि हुन नसकेको र त्यसमा रुसी पक्षले अस्वीकार गरेको युक्रेनी वार्ताकारको टोलीले जनाएको छ ।
टर्कीएको इस्तानबुलमा झन्डै डेढ घण्टा चलेको वार्तामा दुवै पक्षले सबै बिरामी र गम्भीर घाइते युद्धबन्दीका साथै २५ वर्षमुनिका कैदीलाई आदानप्रदान गर्न सहमति जनाएका हुन् । बीबीसीका अनुसार दुवै पक्षबाट झन्डै १२ हजार सैनिकको शव फिर्ता गर्ने प्रतिबद्धता जनाइएको छ ।
वार्ताको मध्यस्थकर्ता देश टर्किएका विदेशमन्त्री हाकान फिदानले सामाजिक सञ्जालमा मानवीय आदानप्रदानसँग सम्बन्धित उपायसहित पहिले सहमत भएका बुँदाहरूमा विस्तृत छलफल भएको उल्लेख गरेका छन् ।
यसअघि मे १६ मा इस्तानबुलमै भएको पहिलो चरणको वार्तामा दुवै पक्षले एक हजारभन्दा धेरै बन्दीलाई साटासाट गरेका थिए ।