
काठमाडौं । आज विश्व थाइराइड दिवस नेपालमा पनि चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।
हरेक वर्ष मे २५ तारिखमा विश्वभर यो दिवस मनाउने गरिन्छ । ‘थाइराइड समस्यामा रोकथाम र समयमै पहिचान’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।
हर्मोन ग्रन्थीबाट हुने थाइराइडबाट नेपालमा कुल जनसङ्ख्यामध्ये झन्डै १२ प्रतिशत पीडित रहेको अनुमान छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा थाइराइड नौ जना महिलालाई हुँदा एक जना पुरुषलाई हुने गरेको छ ।
डाक्टरका अनुसार ५० प्रतिशत मानिसलाई थाइराइड भए पनि लक्षण पत्ता लाग्दैन । तर पुरुषको तुलनामा महिलालाई बढी हुने गरेको छ ।
थाइराइड रोग विशेषज्ञ डा।भोजराज अघिकारीले पुरुषभन्दा महिलामा १० गुणा बढी थाइराइड देखिने गरेको जानकारी दिए।
विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार विश्वमा थाइराइडबाट पीडित बिरामी ३० करोडको हाराहारीमा पुगेका छन् ।
थाइराइड दुई किसिमको हुन्छ, जसलाई हाइपो र हाइपर थाइराइड भनिन्छ । हाइपो थाइराइड ग्रन्थी कमीको रोग हो भने हाइपर थाइराइड ग्रन्थी बढी हुने रोग हो । बढी थकाइ लाग्ने, शरीर सुन्निने, फुल्ने, निद्रा बढी लाग्ने समस्या हाइपो थाइराइडमा हुन्छ ।
यस्तै छाला फुस्रो हुने, नङ भाँचिने, कपाल झर्ने जस्ता समस्या पनि हाइपो थाइराइडमा देखिन्छ । महिलामा महिनावारी गडबढी हुने, चिटचिट पसिना आउने जस्ता लक्षण देखा पर्छ । तर हइपरको मुख्य लक्षणमा मुटुको धड्कन बढी हुने, तौल घट्नेजस्ता समस्यासमेत देखा पर्छन् ।
दिवस मनाउनुको मुख्य उद्देश्य थाइराइडकोबारेमा मानिसलाई सचेत गराउनु हो ।