२०८२ जेठ २१, बुधवार , ०१:१६:३८ बजे

Sajhamanch
'

संघीय संसदका दुवै बैठक बस्दै, बजेटमाथि छलफल सुरु गर्ने तयारी, विपक्षी दलहरुको सदन चल्न नदिने अडान कायमै

मङ्गलवार, जेठ २०, २०८२

काठमाडौं । आज प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठकहरु बस्दैछन् । प्रतिनिधि सभाको बैठक आज बिहान ११ः०० बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजेका लागि तय भएको छ ।

प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथि छलफल सुरु गर्ने तयारी छ । सोही अनुसार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नेछन् । र, उक्त प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

अर्थमन्त्री पौडेलले यही जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा बजेट भाषण गरेका थिए ।

त्यस्तै, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची छ ।

राष्ट्रिय सभाको आजको बैठकमा पनि अर्थमन्त्री पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको ‘भन्सार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त भएको संशोधन माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

साथै ‘प्रतिनिधि सभाबाट प्राप्त भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्तावसमेत सभामा प्रस्तुत हुनेछ ।

संसद अवरोध जारी राख्ने विपक्षी दलको अडान

तर सत्तामा विपक्षी दलहरुले संघीय संसदका दुवै सदनका बैठक आज अवरुद्ध गर्ने तयारी गरेका छन् ।

नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी लगायत दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे छानबिन हुनुपर्ने अडान राख्दै संसद बैठक अवरुद्ध गर्ने तयारी गरेका हुन् ।

गृह मन्त्रालयका सहसचिव तीर्थ भट्टराई भिजिट भिसामा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा पर्दा गृहमन्त्री लेखकको सचिवालयका सदस्यहरु समेत मुछिएपछि मन्त्री लेखकमाथि पनि छानबिन गर्नुपर्ने माग विपक्षी दलहरुले राखेका छन् । छानबिनलाई सघाउन मन्त्री लेखकले राजीनामा दिनुपर्ने माग समेत उनीहरुको छ ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गृहमन्त्री लेखकको राजीनामा नआएसम्म सदन चल्न नदिने बताए । बजेट भाषणको भोलिपल्ट अर्थात् जेठ १६ गते बसेको माओवादी केन्द्रको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसदमा अवरोध जारी राख्ने निर्णय गरेको थियो ।

यसैगरी जेठ १९ गते बसेको रास्वपा संसदीय दलको बैठकले उच्चस्तरीय छानविन आयोगमार्फत गृहमन्त्री लेखकमाथि अनुसन्धान हुनुपर्ने र त्यसअघि उनले राजीनामा दिएर मार्गप्रसस्त गर्नुपर्ने अडान कायमै राख्ने निर्णय गरेको थियो ।

सम्बन्धित खबर