२०८२ जेठ ११, आइतवार , ०७:२९:०३ बजे

Sajhamanch
'

बिर्तामोडमा यो वर्ष ९ लाख २४ हजारका कृषि सामग्रीमा किसानलाई

आइतवार, जेठ ११, २०८२

बिर्तामोड । बिर्तामोड नगरपालिकाले किसानलाई विभिन्न प्रकारका कृषि यन्त्र उपकारणहरु वितरण गरेको छ ।

कृषि विकास शाखा मार्फत ७० प्रतिशत अनुदानमा ११ थान चिया टिप्ने मेसिन, २४ थान मकै छोडाउने मेसिन र ५० प्रतिशत अनुदानमा ६२ वटा इलेक्ट्रिक स्पेयर वितरण गरिएको हो ।

९ लाख २४ हजार मूल्य बराबरको कृषि सामग्रीमा किसानले ३ लाख ४५ हजार ५०० रुपैयाँ लगानी गरेका छन् भने नगरपालिकाले ५ लाख ७८ हजार ५०० रुपैयाँ लगानी गरेको कृषि विकास शाखा प्रमुख राजेन्द्रप्रसाद कडरियाले जानकारी दिए ।

नगरपालिकाले हरेक वर्ष आधुनिक कृषि प्रविधि वितरण गर्दै आएको छ। नगरप्रमुख पवित्रा महतारा प्रसाईले कृषि क्षेत्रमा काम गर्न सहयोग गर्ने उद्देश्यले यो वर्ष पनि छनौटमा परेका किसानहरुलाई कृषि मेसिन वितरण गरिएको बताइन् ।

परम्परागत कृषि प्रणालीले जीवन धान्न कठिन हुने बताउँदै उनले आधुनिक प्रविधिको प्रयोग गरेर व्यवसायिक बन्नुपर्नेमा जोड दिइन् ।

कृषकलाई सहयोग गर्न नगरपालिका तयार रहेको भन्दै नगरप्रमुख प्रसाईले आधुनिक र सृजनात्मक योजना बनाउन पनि आग्रह गरिन् ।

कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बिर्तामोड नगरपालिका किसानको हितमा काम गर्दै आएको र आगामी दिनमा पनि थप व्यवस्थित रुपमा काम गर्न तयार भएको धारणा राखेका थिए ।

मेहनत गर्ने किसानलाई स्थानीय सरकारको तर्फबाट आवश्यक सहयोग गर्दै जाने बताउँदै उनले कृषि सामग्रीको अधिकतम प्रयोगबाट उत्पादन र आम्दानी वृद्धि गर्न सूझाव दिए ।

बिर्तामोड नगरपालिकाले २०७४ सालदेखिने यस प्रकारका मेसिन तथा औजारहरु वितरण गर्दै आएको छ । अहिलेसम्ममा मकै छोडाउने मेसिन १८० वटा, चिया टिप्ने मेसिन २५ वटा, कृषि चुन, मल्चिङ, टनेल, विषादी, विउ विजन, रेफ्री फ्रिज लगायतका सामग्री सहयोग गरिएको कृषि शाखामा तथ्याङ्क छ ।

कृषि मेसिन वितरण कार्यक्रममा वडा नम्बर ४ का वडाअध्यक्ष राहुल शर्मा, कार्यपालिका सदस्य संगीता सिवा, शर्मिला राजवंशी, सिता ढुंगाना विक, तिला गौतम, वडा नम्बर ८ का वडासदस्य अग्निप्रसाद सिटौला लगायतको सहभागिता थियो ।

सम्बन्धित खबर