२०८२ जेठ ११, शनिवार , ०३:२०:०३ बजे

Sajhamanch
'

रास्वपामा नेता यज्ञमणिको सुझावः खाली रहेका पदहरुमा पदपूर्ति गरौं

शनिवार, जेठ ११, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवं अधिवक्ता यज्ञमणि न्यौपानेले पार्टी उपसभापति लगायत रिक्त पदपूर्ति गर्न प्रस्ताव गरेका छन् ।

नेता न्यौपानेले सर्वोच्च अदालतको आदेश अनुसार अब पार्टी सभापति रवि लामिछाने केही समय बाहिर आउने सम्भावना नहरेको भन्दै उनले अन्य खाली भएका मुख्य पदमा पूर्ति गर्न सुझाव दिएका हुन् ।

मुख्य पदहरु रिक्त हुँदा पार्टीलाई अगाडि बढाउन नसकिने भन्दै उनले महाधिवेशनसम्मका लागि पद पूर्ति गर्न माग गरेका हुन् ।

पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र उपसभापति स्वर्णिम वाग्लेलाई सुझाव पत्र पठाउँदै उनले रिक्त रहेको महामन्त्री, सह महामन्त्रीका साथै केन्द्रीय सदस्य पदहरुको पनि पूर्ति गर्न भनेका छन् ।

यसका साथै संसदीय दलको नेता चयन गर्ने, सम्पूर्ण विभाग तथा समितिलाई पूर्णता दिने, शुभेच्छुक संगठन सबै निकायमा अविलम्ब निर्माण गर्ने र ती शुभेच्छुक संगठनहरु भातृ संगठनको रुपमा नरही स्वायत्त प्रकृतिका रहने, २०७९ सालमा प्रतिनिधि सभाको निर्वाचन लडेका उम्मेदवारहरूलाई प्राथमिकताका साथ उचित प्रतिनिधित्व गराउन पनि उनले माग गरेका छन् ।

न्यौपानेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको माग गर्ने र त्यसका लागि सदन तथा सडकबाट संघर्ष सुरु गर्नुपर्ने विषय पनि उठाएका छन् ।

न्यौपाने रास्वपामा यसअघि अनुशासन आयोगका कार्यवाहक प्रमुख थिए । महाधिवेशन हुने भनेपछि महामन्त्रीमा आकांक्षी भएर उनले राजीनामा दिएका थिए ।

अहिले रास्वपामा सभापति लामिछाने कारागार चलान भएपछि उपसभापति अर्याल कार्यवाहक सभापति छन्, उनको पद खाली छ ।

मुकुल ढकाललाई पार्टीबाट निकालिए पछि लामो समयदेखि महामन्त्री पद खाली छ । सहमहामन्त्रीबाट सुमना श्रेष्ठले राजीनामा दिएपछि सो पद पनि खाली छ ।

सम्बन्धित खबर