
झापा । गाजामा रहेको एक सहायता केन्द्र नजिकै इजरायली ट्याङ्कहरूले गोली चलाउँदा कम्तीमा २६ जनाको ज्यान गएको छ ।
गाजाको दक्षिणी शहरमा भएको इजरायली गोलीबारीमा अन्य एक सय ५० जना प्यालेस्टिनी घाइते भएका उद्धारकर्ताहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
हजारौं प्यालेस्टिनी अमेरिकाले पठाएको मानवीय सहायताको वितरण केन्द्र नजिकै भेला भएका बेला इजरायली ट्याङ्कले भीडमाथि गोली चलाउन थालेको खबरमा उल्लेख छ ।
आक्रमणपछि उद्धार टोलीहरू घटनास्थलमा पुग्न नसकेपछि धेरै घाइते र मृतकहरूलाई गाडामा राखेर अल–मावासी क्षेत्रको रेडक्रस फिल्ड अस्पतालमा लगिएको थियो ।
अमेरिका, कतार र इजिप्टको मध्यस्थतामा भएको दुई महिनाको युद्धविराम भङ्ग गर्दै इजरायलले गाजामा पूर्णरूपमा नाकाबन्दी लगाउँदै मार्च १८ मा हमासविरुद्ध सैन्य आक्रमण पुनः शुरू गरेको थियो । अहिले गाजामा सीमित मात्रामा खाद्य सामग्री पुगिरहेको छ ।
यसैबीच गाजामा भोकभोकै रहेका नागरिकले राहत सामग्रीसहितका ट्रकलाई घेरेर खाद्य सामग्री लगेका विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले जनाएको छ ।
सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा एक हजार २०० जनाको ज्यान गएको थियो भने २५१ जनालाई बन्धक बनाएको थियो । त्यसयता इजरायली आक्रमणमा गाजामा कम्तीमा ५४ हजार ३८१ जनाको ज्यान गएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।