
पोखरा । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघको १०औं राष्ट्रिय महाअधिवेशन आजबाट पोखरामा सुरू हुँदैछ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले आज मध्याह्न १२ बजे अमरसिंह चौर पोखरामा महाधिवेशन उद्घाटन गर्दैछन् ।
संगठनका महासचिव सुमन पुरीले अधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको छ । उनका अनुसार महाधिवेशनमा १ हजार ७९२ जना प्रतिनिधि हुनेछन् । तर, विभिन्न पार्टीका युवा संघ–संगठन, अन्य कमिटी परित्याग गरी राष्ट्रिय युवा संघमा आएकाहरूलाई पनि ध्यानमा राखेर प्रतिनिधि संख्या केही बढाउने समझदारी भएको छ । यसरी बढ्दा प्रतिनिधिको संख्या १ हजार ८३४ पुग्न युवा संघले जनाएको छ ।
एमालेको पछिल्लो नीतिअनुसार युवा संघको महाधिवेशनले ९ पदाधिकारीसहित १५१ सदस्यीय नयाँ केन्द्रीय समिति निर्वाचित गर्नेछ । संगठनका अध्यक्ष क्षितिज थेवे अधिवेशनबाट नेतृत्वमा दोहोरिन चाहेका छन् । महासचिव सुमन पुरी, उपाध्यक्षहरू कृष्णहरि केसी, प्रकाश गौतम र महाराज गुरूङले पनि अध्यक्षमा चासो देखाएका छन् ।
महासचिवमा खेम शर्मा, कुबेर अधिकारी, विनय शाह, राजन थापा, महेश चौलागाईं, निरोज पौडेल लगायतको नाम चर्चामा छ । परिवर्तित नीतिअनुसार युवा संघमा दुई जना उपाध्यक्ष हुनेछन् । जसमा एकजना महिला अनिवार्य गरिएको छ ।
महिला उपाध्यक्षमा शारदा पछाईं, नीशा लिम्बू, रेशु तामाङ, अनुपमा राईले आकांक्षा राखेका छन् । खुलातर्फ बलराम बेलबासे, राजन थापा, राकेश राई लगायतको चर्चा छ ।
आगामी नेतृत्वका लागि आकांक्षी बढे पनि पार्टी नेतृत्वले भने प्रतिस्पर्धा चाहेको छैन । फागुन यता अधिवेशन भएका १० वटा जनसंगठनमा कतै पनि निर्वाचन भएन । अधिवेशन भएका सबै जनसंगठनमा सर्वसम्मत नेतृत्व चयन गरिएको थियो ।