२०८२ जेठ १९, सोमवार , ०४:३७:५८ बजे

Sajhamanch
'

कोशी लोकमार्गको धरान–धनकुटा सडक खण्ड एकतर्फी सञ्चालन : यात्रा गर्दा चनाखो रहन आग्रह

आइतवार, जेठ १८, २०८२

विराटनगर । कोशी लोकमार्गको धरान–धनकुटा सडक खण्ड एकतर्फी सञ्चालन भएको छ । कोशी लोकमार्गको साँगुरीगढी गाउँपालिका–६ फेदीमा लेउती खोलामा आएको बाढीले हिजो बिहानदेखि अवरुद्ध धरान–धनकुटा सडक खण्ड मर्मतपछि बेलुकादेखि एकतर्फी खुलेको हो ।

कोशी लोकमार्गको झन्डै १०० मिटर सडक कटान भएको थियो । सडक भत्केपछि दुईतर्फी नै अवरुद्ध भएको थियो ।

बाढीले बगाएको सडकमा अस्थायी डाइर्भसन बनाएर सडक एकतर्फी रुपमा खुलाएको धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलले जानकारी दिए।

लेउती खोलाको धार फर्काएर अस्थायी डाइर्भसनबाट गाडी सञ्चालन गरिएको हुँदा यो सडकमा यात्रा गर्दा चनाखो रहन उनको आग्रह छ ।

सडक खुलेपछि रोकिएका गाडी र यात्रु गन्तव्यतर्फ लागेका छन् । सडक पूर्णरुपमा मर्मत गरी दुइतर्फी खुलाउन केही दिन लाग्ने प्रमुख जिल्ला अधिकारी पोख्रेलले उज्यालोलाई जानकारी दिए।

यसैबीच नारायणगढ–बुटवल सडक खण्डमा गाडी दुईतर्फी नै चलिरहेका छन् । हिजो केहीबेर ह्युम पाइप राख्ने क्रममा गाडी एकतर्फी सञ्चालनमा थिए । यो खण्डमा पानी पर्ने बित्तिकै बाटो चिप्लो भएर र डाइभर्सन भत्किएर समस्या हुँदै आएको छ ।

सडक जोखिमपूर्ण भएपनि आज गाडी नियमित सञ्चालमा रहेका जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) का सूचना अधिकारी डीएसपी विरदत्त पन्तले जानकारी दिए।

सम्बन्धित खबर