
काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेपछि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा १ रुपैयाँ मूल्य बढाएको हो ।
इन्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएको भन्दै निगमले पनि मूल्य बढाएको हो । निगमका अनुसार भारतबाट पेट्रोलमा २ रुपैयाँ ११ पैसा र डिजेलमा १ रुपैयाँ ९ पैसा मूल्य बढेर आएको छ ।
नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोल १५९ र डिजेल तथा मट्टीतेल १४३ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
यसैगरी पेट्रोलमा पहिलो वर्गका लागि १५६ रुपैयाँ ५० पैसा प्रतिलिटर र दोस्रो वर्गका लागि १५८ रुपैयाँ मूल्य तोकिएको छ ।
निगमले हवाई इन्धनको मूल्य भने घटाएको छ । हवाई इन्धन प्रतिलिटर आन्तरिकतर्फ ३ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंमा २२ अमेरिकी डलरले घटाइएको छ ।