
काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आम्दानी र खर्चको यथार्थपरक बजेट ल्याएको दाबी गरेका छन् ।
आज अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले आउँदो आर्थिक वर्ष २०८२/८३ को बजेट यथार्थपरक रहेको र आकारको विषयमा समेत त्यति धेरै टिकाटिप्पणी नआएको बताए। उनले अहिले स्रोतको सिमितताबीच यथार्थमा रहेर अघि बढ्ने अवस्था रहेको र त्यसैअनुसार बजेट आएको बताए ।
बजेटमा कार्यान्वयन गर्न सकिने कार्यक्रम नै समेटीएका उनको भनाइ छ । बजेट कार्यान्वयन हुनेमा शङ्का नगर्न आग्रह गर्दै उनले अर्थ मन्त्रालयले कार्ययोजनाको काम आजैदेखि शुरु गरेको पनि बताए। अर्थमन्त्री पौडेलले प्रदेश र स्थानीय सरकारले पनि सन्तुलित बजेट निर्माण गर्न सक्ने गरी सङ्घीय सरकारको बजेट आएको दाबी गरे।
राष्ट्रिय योजना आयोगले आउँदो आर्थिक वर्षको बजेटका लागि १९ खर्ब ६५ करोडको सिलिङ दिएको थियो । अर्थमन्त्री पौडेलले हिजो आउँदो आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट संघीय संसद्मा प्रस्तुत गरेका हुन् ।
आउँदो आर्थिक वर्षका लागि चालूतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड, पुँजीगततर्फ चार खर्ब सात अर्ब ८९ करोड र वित्तीय व्यवस्थातर्फ तीन खर्ब ७५ अर्ब २४ करोड विनियोजन गरेको छ ।
सरकारले आउँदो आर्थिक वर्षमा राजस्वबाट १३ खर्ब १५ अर्ब र वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड व्यहोर्ने योजना बनाएको छ । बाँकी अपुग आन्तरिक र वैदेशिक ऋणबाट जुटाइने अर्थमन्त्री पौडेलले बताएका छन् ।