
झापा । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले युक्रेनसँग समष्टिगत आर्थिक स्थायित्वका लागि ५० करोड अमेरिकी डलर बराबरको ऋण कार्यक्रम पुनरावलोकनका लागि सम्झौता गरेको छ ।
तीन वर्षभन्दा धेरै समयदेखि रुससँग युद्ध गरिरहेको युक्रेनले अमेरिकामा रहेको अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट चार वर्ष अर्थात १५ अर्ब ५० करोड अमेरिकी डलर बराबरको राहत पाएको समाचार संस्था एएफपीले जनाएको छ ।
युक्रेनको भ्रमणपछि कोषले युक्रेनले मार्चको अन्त्यसम्ममा आफ्ना सबै लक्ष्य र कार्यसम्पादन मापदण्ड पूरा गरेको र यसको कार्यकारी बोर्डले नयाँ वितरणलाई अनुमोदन गर्न सिफारिश गरिरहेको जनाएको छ ।
धेरै हदसम्म औपचारिकता मानिने यो प्रक्रिया समितिले अनुमोदिन गरेमा आईएमएफले युक्रेनलाई तुरुन्तै ५० करोड डलर उपलब्ध गराउनेछ । अहिलेको कार्यक्रमअन्तर्गत यसको वितरण १० दशमलव ७ अर्ब डलरको नजिक पुग्नेछ ।
आईएमएफ मिसन प्रमुख गेभिन ग्रेले एक विज्ञप्तिमार्फत तीन वर्षभन्दा लामो युद्धबाट उत्पन्न चुनौतीका बावजुद युक्रेनको अर्थतन्त्र लचिलो रहेको बताएका छन् ।