
काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थव्यवस्था सकारात्मक लयतर्फ उन्मुख रहेको बताएका छन् ।
आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उनले गएको वर्ष आर्थिक वृद्धिदर ३ दशमलव ७ प्रतिशत रहेकोमा चालू आर्थिक वर्षमा ४ दशमलव ६ प्रतिशत हुने प्रक्षेपण रहेको बताए।
अर्थमन्त्री पौडेलले उद्योग, निर्माण, थोक तथा खुद्रा व्यापारलगायतका क्षेत्रमा गएको आर्थिक वर्षमा ऋणात्मक वृद्धिदर रहेकोमा चालू आर्थिक वर्षमा अर्थतन्त्रका सबै क्षेत्रहरू धनात्मक वृद्धिदर हुने अनुमान रहेको बताए। विद्युत्, यातायात तथा भण्डारण र वित्तीय तथा बीमा सेवालगायतमा उल्लेखनीय वृद्धिदर हुने अनुमान रहेको उनको भनाइ छ ।
अर्थमन्त्रीले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म ३३९ मेगावाट थप विद्युत् उत्पादन भएको दाबी गरे। २०८२ साल वैशाखसम्म पर्यटक आवागमनको सङ्ख्या गएको वर्षको त्यही अवधिको तुलनामा १३ प्रतिशतले वृद्धि भई ९ लाख २३ हजार पुगेको उनले उल्लेख गरे।
अर्थमन्त्री पौडेलले चालू आर्थिक वर्षको मुद्रास्फीति चालू आर्थिक वर्षको चैत्र महिनामा ३ दशमलव ४ प्रतिशतमा सीमित रहेको बताए।