२०८२ जेठ १५, बिहिवार , ०३:२६:०९ बजे

Sajhamanch
'

अमेरिकी अर्बपति मस्क ट्रम्प सरकारबाट बाहिरिने

बिहिवार, जेठ १५, २०८२

झापा । अमेरिकी अर्बपति व्यवसायी एलन मस्क अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनबाट बाहिरिने भएका छन् । अमेरिकाको खर्च कटौती निकायमा कार्यरत मस्कले अब यो काम नगर्ने बताएको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको जनवरीदेखि ह्वाइट हाउसमा आफ्नो दोस्रो कार्यकाल शुरू भएदेखि मस्कलाई सरकारी खर्च घटाउने जिम्मेवारी दिएर नयाँ सरकारी निकाय गठन गरी त्यसको नेतृत्व गर्न नियुक्त गरेका थिए।

मस्कले सामाजिक सञ्जाल एक्समा यो काम गर्ने अवसर दिएकोमा राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका छन् । उनले आफूले काम छोडे पनि उनी आबद्ध निकायले भने काम गरिरहने र सरकारी खर्च काटौती मिसन समयसँगै बलियो हुँदै जाने दाबी गरेका छन् ।

यसअघि मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पको खर्च विधेयक (वान बिग ब्युटिफुल बिल) को विरोध गरेका थिए।

अमेरिकी कार कम्पनी टेस्लाका प्रमुखसमेत रहेका मस्कले विधेयकले बजेट घाटा घटाउनुको सट्टा बढाउने र उनले काम गरिरहेको सरकारी कार्यदक्षता विभाग (डोज) टिमले गरिरहेको कामलाई कमजोर पार्ने भन्दै विधेयकको आलोचना गरेका थिए।

सम्बन्धित खबर