
विराटनगर । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा एक अर्ब २२ करोड एक लाख ६३ हजार रुपैयाँ खर्च गरेको छ । महानगरपालिकाले कर्मचारीको तलबभत्ता र विकास निर्माणमा १० महिनामा एक अर्ब २२ करोड रुपैयाँ खर्च गरेको हो ।
१० महिनाको अवधिमा तलबभत्तामा मात्रै २० करोड ४३ लाख ४७ हजार रुपैयाँ खर्च भएको छ । पोशाकमा ४१ लाख ९० हजार र कर्मचारी बैठक भत्तामा ९ लाख ९८ हजार रुपैयाँ खर्च गरेको छ ।
यस्तै, पदाधिकारीको सुविधाका लागि एक करोड ५३ लाख १८ हजार र पदाधिकारीको बैठक भत्तामा लागि ६ लाख ४८ हजार रुपैयाँ खर्च भएको छ ।
अन्य भत्ताको शीर्षकमा दुई करोड ११ लाख ५८ हजार १३४ रुपैयाँ खर्च गरेको महानगरपालिकाले करार सेवा शुल्क शीर्षकमा ४ करोड ३९ लाख ५४ हजार १४५ रुपैयाँ खर्च गरेको छ ।
चालु आर्थिक वर्षका लागि तीन अर्ब ४९ करोड ९८ लाख ८६ हजारको बजेट ल्याएको महानगरपालिकाले सडक तथा पुल निर्माणमा १८ करोड १३ लाख ३९ हजार ६०८ रुपैयाँ खर्च गरेको छ ।
यो शीर्षकमा ७१ करोड ८४ लाख २८ हजार रपैयाँ बजेट विनियोजन भएको थियो । अन्य सार्वजनिक निर्माणमा विराटनगर महानगरपालिकाले एक करोड ६६ लाख ९५ हजार ४०२ रुपैयाँ खर्च गरेको छ ।
जेठ ५ गतेसम्म विराटनगर महानगरपालिकाले ४२ करोड २० लाख १९ हजार ३७ रुपैयाँ आन्तरिक आम्दानी गरेको छ । महानगरले सम्पत्ति करबापत १३ करोड ४३ लाख ७ हजार र मालपोत कर बापत एक करोड २४ लाख ५ हजार १९७ रुपैयाँ आम्दानी गरेको हो ।
गतवर्ष महानगरले ६१ करोड रुपैयाँ आन्तरिक आम्दानी गरेको थियो । चालु आर्थिक वर्षमा विराटनगरको आम्दानीको लक्ष्य एक अर्ब १० करोड रुपैयाँ छ ।