
काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले शपथग्रहण गरेका छन् ।
बुधबार आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले गभर्नर पौडेललाई पद तथा गोपनीयताको शपथ गराए ।
पौडेललाई मंगलबारको मन्त्रिपरिषद् बैठकले केन्द्रीय बैंकको १८औं गभर्नर नियुक्त गरेको हो ।
सुस्त अर्थतन्त्रलाई गति प्रदान गर्ने तथा खराब कर्जाको चपेटामा परेको बैंकिङ क्षेत्रलाई सुरक्षित अवतरण गराउनु उनको मुख्य चुनौती हो । समग्र अर्थतन्त्रको इतिहासको ज्ञाताका रूपमा आफ्नो परिचय बनाएका पौडेल अब्बल युवा अर्थशास्त्री हुन् ।
पौडेल २०७९ को आमनिर्वाचनमा चितवन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग पराजित भएका हुन् ।
निर्वाचनमा पराजित भए पनि पुनः अध्यापन पेशामा फर्केका पौडेल नेपाली कांग्रेसको कोटाबाट मंगलबार राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त भएका हुन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भइसकेका पौडेल पद छाडेर प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन गएका थिए ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को आर्थिक सल्लाहकार भइसकेका पौडेल काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका प्राध्यापक हुन् । पौडेलले अमेरिकाको क्यालिफोर्निया युनिभर्सिटी बर्कलेबाट कृषि तथा स्रोत अर्थतन्त्रमा विद्यावारिधि गरेका छन् । प्राकृतिक स्रोत, श्रम अर्थशास्त्र तथा आर्थिक इतिहासमा पौडेलको दख्खल छ ।
पौडेलले चीनबाट इन्जिनियरिङमा स्नातक गरेका छन् । चीनमा इन्जिनियरिङ अध्ययन गर्ने क्रममा उनी अर्थशास्त्र अध्ययनतर्फ आकर्षित भए । इन्जिनियरिङ पढ्दा जागेको अर्थशास्त्र अध्ययनको जगमा आज पौडेल राष्ट्र बैंकको गभर्नर बन्न सफल भए ।
यसअघि सानिमा बैंकका सञ्चालक समेत रहेका पौडेलले ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन नेपाल’ को कार्यालयमा अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्षको सल्लाहकारका रूपमा पनि काम गरिसकेका छन् । उनी युलेन्स स्कुलका बोर्ड अफ ट्रस्टी समेत रहिसकेका छन् ।
अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकार भइसकेका पौडेलले इसिमोडको बोर्ड अफ गभर्नरको अध्यक्ष, कोलम्बोको योजना परिषद् अध्यक्ष र रिजनल इकोनोमिक कर्पोरेसन एन्ड इन्टिग्रेसनको अध्यक्षको जिम्मेवारी पूरा गरिसकेका छन् ।