
काठमाडौं । विश्व मौसम संगठन (डब्ल्यूएमओ)ले आगामी पाँच वर्षमा विश्वको औसत तापक्रम १ दशमलव ९ डिग्री सेल्सियसम्म बढ्ने अनुमान गरेको छ । यो अनुमान ५० वर्षको औसत (सन् १८५० देखि १९०० को अवधिको औसत) तापक्रमको तुलनामा गरिएको हो ।
बुधबार सार्वजनिक विश्व मौसम संगठनको रिपोर्टमा सन् २०२५ देखि सन् २०२९ सम्मको अवधिमा हालसम्मको सबैभन्दा तातो वर्ष २०२४ लाई पनि पार गर्ने सम्भावना ८० प्रतिशत रहेको सम्भावना औंल्याइएको छ ।
यसैगरी कम्तीमा एक वर्षमा औसत तापमान पूर्वऔद्योगिक स्तरभन्दा १ दशमलव ५ डिग्री सेल्सियसभन्दा बढी हुने सम्भावना ८६ प्रतिशत छ ।
पाँच वर्षको औसत तापमान १ दशमलव ५ डिग्री सेल्सियसभन्दा बढी हुने सम्भावना ७० प्रतिशत छ । यो गत वर्षको रिपोर्ट (२०२४–२०२८) को तुलनामा २६ प्रतिशतले बढी हो । सन् २०२४–२०२८ मा यस्तो सम्भावना ४७ प्रतिशत मात्र थियो । यसैगरी सन् २०२३ को रिपोर्ट (सन् २०२३–२०२७)मा ३२ प्रतिशत मात्र थियो ।
यसबाट हरेक वर्ष विश्वको औसत तापक्रम बढ्दै गएको देखिन्छ । तापमानमा प्रत्येक वर्ष थोरै–थोरै वृद्धि हुनु पनि हानिकारक हुने वैज्ञानिकहरु बताउँछन् । यसले तातो लहर, अत्यधिक वर्षा, गम्भीर खडेरी, हिमगलन, समुद्री सतह वृद्धि जस्ता घटनाहरुलाई अझै बढाउँछ ।
आर्कटिक क्षेत्रको तापमान वृद्धि विश्वको औसतभन्दा ३ दशमलव ५ गुणा बढी हुने अनुमान छ, जसले समुद्र्री बरफ पग्लन र समुद्री सतह बढाउन भूमिका खेल्ने छ ।
डब्ल्यूएमओले भनेको छ, ‘आर्कटिकमा आगामी पाँच वर्षको अवधिमा गर्मीका कयौं रेकर्ड तोडिन सक्छन् । आगामी पाँच वर्षमा आर्कटिक क्षेत्रको तापमान विश्वको औसत तापक्रमभन्दा ३ दशमलव ५ गुणा अधिक हुने सम्भावना छ । यो सन् १९९१–२०२०को औसतभन्दा २ दशमलव ४ डिग्री सेल्सियसले बढी हो ।
यसका साथै समुद्री बरफको स्तर मार्च २०२५ देखि २०२९ सम्म अझै घट्ने सम्भावना पनि छ । यस्तो खासगरी बारेन्ट्स सागर, बेरिङ सागर र ओखोत्स्क सागरमा हुने सम्भावना छ ।
यस्ता मौसमी घटनाले अमेजन क्षेत्रमा थप खडेरी हुने र दक्षिण एशिया तथा उत्तरी युरोपमा वर्षा वृद्धि हुन सक्ने सम्भावना रहेको डब्ल्यूएमओले जनाएको छ ।
रिपोर्टका अनुसार २०२५–२०२९ को अवधिमा मेदेखि सेप्टेम्बर महिनामा औसतभन्दा बढी वर्षा हुनो सम्भावना छ । साहेल, उत्तरी युरोप, अलास्का र उत्तर साइबेरियामा औसतभन्दा बढी वर्षाको सम्भावना औंल्याइएको हो ।
तर अमेजन क्षेत्रमा औसतभन्दा कम वर्षा हुने सम्भावना छ ।
नेपालमा कस्तो प्रभाव ?
दक्षिण एसियाली देशमा सन् २०२३ यताका वर्षहरुमा औसतभन्दा अधिक वर्षा हुँदै आएको छ । यस्तो सम्भावना सन् २०२५–२०२९ को अवधिको बीचमा पनि रहेको डब्ल्यूएमओले जनाएको छ । यद्यपि सबै मौसम प्याट्रन समान भने छैनन् ।
डब्ल्यूएमओको ताजा रिपोर्टमा नेपाललाई विशेष रूपमा उल्लेख गरिएको छैन । तर दक्षिण एशियाका लागि गरिएका पूर्वानुमानहरू नेपालका लागि पनि सान्दर्भिक छन् ।
नेपाल जस्ता हिमाली देशहरूमा तापमान वृद्धिले हिमनदीहरू पग्लिने र बाढी–पहिरोको जोखिम बढाउनेछ । साथै, कृषि उत्पादनमा असर, जल स्रोतहरूको अस्थिरता र जैविक विविधतामा नकारात्मक प्रभाव पर्ने सम्भावना छ ।
इसिमोडको एक रिपोर्ट अनुसार, यदि विश्व तापक्रम बढिरह्यो भने नेपाल र भुटानले हिमालय क्षेत्रमा जमेको बरफ ७५ देखि ८० प्रतिशतसम्म गुमाउने खतरा छ । यसले नेपालका नदीहरूमा पानीको प्रवाह, जलविद्युत् उत्पादन र सिँचाइ प्रणालीमा दीर्घकालीन असर पार्न सक्छ ।
साथै अत्यधिक वर्षा र उच्च तापक्रमले कृषि उत्पादनमा नकारात्मक असर पुर्याएर खाद्य सुरक्षामा चुनौती सिर्जना गर्न सक्छ ।
त्यसैले जलवायु परिवर्तनको असरलाई ध्यानमा राख्दै दीर्घकालीन योजना, पूर्वतयारी र अनुकूलन रणनीतिहरू आवश्यक पर्ने डब्ल्यूएमको जोड छ ।
विश्वभर बढीरहेको गर्मीको असर सबैलाई समान रुपमा भने परेको छैन । शीतलमा बस्ने सुविधाबाट बन्चित गरिब, मजदुर, विस्थापित तथा गर्भवती, बालबालिका, वृद्धवृद्धा, विकलाङ्ग व्यक्तिहरु बढी प्रभावित छन् । त्यसैले श्रम गरेर परिवार पाल्नेहरुको सुरक्षामा बढी जोड दिनुपर्ने वैज्ञानिकहरुको सुझाव छ ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को एक रिपोर्ट अनुसार विश्वभर शारीरिक श्रम गर्न सक्ने करिब ७० प्रतिशत व्यक्ति अत्यधिक गर्मीको चपेटामा परेका छन् ।
अफ्रिका र अरब क्षेत्रमा स्थिति अझै संकटपूर्ण छ । त्यहाँ क्रमशः ९० र ८० प्रतिशत जनसंख्याले अत्यधिक गर्मीको सामना गरिरहेका छन् । एसिया र प्रशान्त क्षेत्रमा यो संख्या करिब ७५ प्रतिशत छ । यही क्षेत्रमा विश्वकै सबैभन्दा धेरै जनघनत्व छ ।
बढ्दो गर्मीबाट विश्व अर्थतन्त्रमा सन् २०३० सम्म २ दशमलव ४ ट्रिलियन डलर नोक्सान हुने अनुमान छ ।
सन् २०२५ एक निर्णायक वर्ष
सन् २०२५ विश्वको जलवायु कार्यका लागि एक महत्वपूर्ण वर्ष मानिएको छ । किनभने सन् २०२५ मा जलवायु अनुकूलन योजनामा व्यापक सुधारको आवश्यकता छ । ताकि पेरिस सम्झौताको लक्ष्य प्राप्त गर्न सकिओस् ।
पेरिस सम्झौतामा देशहरुले विश्वको औसत तापक्रमलाई औद्योगिक कालभन्दा पहिलेको स्तरबाट दुई डिग्री सेल्सियसबाट तलै राख्न कोसिस गर्ने उल्लेख छ ।
डब्ल्यूएमओले अझै पनि जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न सकिने जनाएको छ । त्यसका लागि जीवाश्म इन्धनको प्रयोगमा कटौती, नवीकरणीय ऊर्जा प्रवद्र्धन र जलवायु अनुकूलन कार्यक्रममा लगानीमा जोड दिनुपर्ने छ ।