
काठमाडौं । आज विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक आरोहण गरेको दिन अर्थात् ७२औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस । नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस भव्य रूपमा मनाइँदैछ ।
सन् १९५३ मे २९ तारिखका दिन नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको शिखरमा पाइला टेकी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासक परिचय दिएका थिए । त्यही दिनलाई स्मरण गर्दै हरेक वर्ष मे २९ का दिन अन्तर्राष्टिय सगरमाथा दिवस मनाउन थालिएको हो ।
दिवसका अवसरमा अहिले बिहान कर्मचारी सञ्चयकोष ठमेलबाट विभिन्न झाँकीसहित प्रभातफेरी शुरू भई वसन्तपुरमा औपचारिक कार्यक्रममा परिणत हुँदैछ ।
दिउँसो ‘सगरमाथा समिटर्स समिट’ कार्यक्रमको आयोजनाको तयारी छ । कार्यक्रममा कीर्तिमानी आरोहीका अनुभव आदान–प्रदानका साथै साहसिक पर्यटन प्रवर्द्धन तथा जलवायु परिवर्तनले हिमालमा पारेको प्रभाव न्यूनीकरणबारे बहस हुनेछ ।
दिवसकै अवसरमा विभिन्न कीर्तिमानी आरोहीलाई सम्मान गरिने कार्यक्रम छ । दिवसको आयोजनाले भावी पुस्तालाई हिमाल आरोहणको सपनाहरू पछ्याउँदै भावी परिदृश्यहरूको सम्मान र संरक्षण गर्नसमेत प्रोत्साहित गर्ने विश्वास लिइएको छ ।