
काठमाडौं । गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्रीहरु, मुख्यमन्त्रीहरु, विभिन्न दलका नेताहरु सबैले आ–आफ्नै शैली र माध्यमबाट आज शुभकामना सन्देश प्रदान गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले हाल गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती, अनियमितता र बेथिति भएको बताएका छन् ।
गणतन्त्र दिवस, २०८२ का अवसरमा आज शुभकामना दिँदै उनले गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न राजनीतिक उपलब्धि मात्र पर्याप्त नहुने भन्दै त्यसका लागि शासकीय चरित्रलाई बदल्नुपर्ने बताएका हुन् ।
सोही सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई सम्बोधन गर्दै शुभकामना व्यक्त गरेका छन् ।
‘शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन हो आज । मुकुटको होइन मुलुकको हितले स्थान पाएको दिन, सिंहासनको अभिमान तोडेर नागरिकको स्वाभिमान स्थापित भएको दिन’ उनले अघि भनेका छन्, ‘जनताको सात दशक लामो बलिदानीपूर्ण सङ्घर्षले विजय प्राप्त गरेर गणतन्त्र आर्जन गरेको दिन ।’
आज १८औं गणतन्त्र दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
दिवसका अवसरमा मूल समारोह समितिले टुँडिखेलमा विशेष कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री लगायत सरकारी उच्च पदस्थ व्यक्तिहरुको सहभागिता हुनेछ ।