
बिर्तामोड । बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले करका विषयमा खबरदारी गर्न आग्रह गरेका छन् ।
नगरपालिकाले बुधबार आयोजना गरेको करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफूले तिरेको कर सही सदुपयोग भएको छ कि छैन भन्ने विषयमा नागरिकले खबरदारी गर्नु पर्ने औंल्याएका हुन् । कार्यक्रममा उपप्रमुख संग्रौलाले समयमा कर तिर्न सबैलाई आग्रहसमेत गरेका थिए ।
यसैगरी नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत सागर मिश्रले करले समग्र नगरको विकासमा योगदान पुर्याएको धारणा राखे ।
नगरपालिकालाई आगामी दिनमा अझै सबल र सक्षम बनाएर लैजाने प्रतिवद्दता व्यक्त गर्दै उनले नागरिकबाट उठेको कर के कस्ता कार्यमा खर्च भइरहेको छ भन्ने कुराको जानकारी गराउनका लागि पनि करदाता शिक्षा कार्यक्रम आयोजना गरिएको बताए ।
यस्तै बिर्तामोड उद्योग वाणिज्य संघका कोषाध्यक्ष युवराज निरौलाले नगरपालिकाले आयोजना गरेको कर शिक्षा कार्यक्रम प्रभावकारी रहेको बताए । उनले व्यवसायीको हितको लागि नगरपालिकाले निर्धारण गरेको करको दरलाई आगामी नीति कार्यक्रममा पुनःमूल्याङ्कन गर्न आग्रह पनि गरेका छन् ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय भद्रपुरका कर अधिकृत डोरराज सुनुवार र बिर्तामोड नगरपालिकाका राजस्व शाखा प्रमुख पदमराज घिमिरेले नगरपालिकाको आर्थिक ऐन, सरकारी कर राजश्वका क्षेत्र, करका किसिम, स्थानीय तहले लगाउने कर, दण्ड जरिवाना, राजस्वका सिद्धान्त, स्थानीय र संघीय कर लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।
नगरपालिकाले यसअघि वडा नम्बर १ र ५ मा यस प्रकारको कार्यक्रम सञ्चालन गरेको थियो । अन्तरक्रिया कार्यक्रममा कार्यपालिका सदस्य सिता ढुंगाना, निर्मलादेवी सुनार, वडा नम्बर ३ का वडासदस्य हरि बाँस्कोटा, वडा नम्बर ४ का वडासदस्य केशव श्रेष्ठ, रमादेवी राजवंशी लगायत १२५ जनाभन्दा बढीको सहभागिता थियो ।