२०८२ जेठ १५, बिहिवार , ०४:४८:२८ बजे

Sajhamanch
'

२० खर्ब हाराहारीको बजेट ल्याउने तयारी

बुधवार, जेठ १४, २०८२

काठमाडौं । स्रोत समितिले दिएको सिलिङभन्दा माथि गएर सरकारले बजेटको अन्तिम तयारी गरेको छ । राष्ट्रिय योजना आयोग उपाध्यक्षको संयोजकत्वमा हुने स्रोत समितिले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि १९ खर्ब रुपैयाँको सिलिङ दिएको थियो ।

‘त्यो सीमाभित्रै बजेट बनाउने कसरत गरे पनि त्यसो गर्न नसकिएको’ अर्थ मन्त्रालय स्रोतले बतायो । यसअघि स्रोत समितिले दिएको स्रोतको सीमाभित्र रहेर बजेट बनाउने अर्थमन्त्री विष्णु पौडेलले बताएका थिए ।

तर, दुई ठूला दल कांग्रेस र एमालेको सरकार रहेको अवस्थामा दुई पार्टीका कार्यक्रमलाई समायोजन गर्दा निकै ठूलो बजेट बनेको थियो । अझै पनि त्यसमा काँटछाँट भइरहेको मन्त्रालय स्रोतले बताएको छ ।

‘पुरानो सिलिङमा १ खर्ब रुपैयाँ बढाएर करिब २० खर्बको बजेट बन्छ होला,’ स्रोतले भन्यो, ‘त्यसभन्दा माथि जाने ठाउँ छैन ।’ अर्थमन्त्री पौडेलले यस पटक विनियोजनकै चरणबाट अनुशासित बजेट बनाउने दाबी गर्दै आएका थिए । तर, व्यवहारमा सिलिङ समेत तोडेर ठूलो आकारको बजेटको तयारीमा अर्थ जुटेको छ ।

योजना आयोगले चालु आव २०८१/८२ मा बनाएको त्रिवर्षीय बजेट विनियोजन तथा प्रक्षेपण अनुसार यस वर्ष बजेट आकार २० खर्ब ८८ अर्ब २१ करोड रुपैयाँसम्म पुग्ने अनुमान छ ।

मन्त्रालय स्रोतका अनुसार मध्यमकालीन खर्च संरचना र स्रोत समितिले दिएको सिलिङबीच रहने गरी बजेट आकार तय गर्ने तयारी गरिएको हो । सरकारले चालु आव १८ खर्ब ६० अर्बको बजेट कार्यान्वयन गरिरहेको छ ।

स्रोतमा चरम दबाब

सरकार पछिल्ला केही वर्षयता स्रोतको चरम दबाबमा छ । राजस्व संकलन लक्ष्य अनुसार हुन सकेको छैन । वृद्धिदर समेत उत्साहजनक छैन । अर्कातिर, वैदेशिक अनुदान निरन्तर घटिरहेको छ । लक्ष्य अनुसार काम गर्न नसक्दा ऋणप्राप्तिमा समेत उल्लेख्य प्रगति छैन ।

यस्तो अवस्थामा ठूलो आकारको बजेट बनाउने ‘फिस्कल स्पेस’ सरकारलाई छैन । तर, पनि १९ खर्बको सीमाभित्र रहन सक्ने अवस्था नभएको स्रोतको दाबी छ । कर्मचारीको तलब बढाउनुपर्ने कानुनी दायित्वका कारण पनि बजेट आकार बढ्न सक्ने देखिएको हो ।

‘तलब बढ्ने कि नबढ्ने अन्तिम निर्णय भइसकेको छैन, त्यसबारे आज निर्णय होला,’ उनले भने, ‘तर, तलब बढाउँदा स्वाभाविक रूपमा ठूलो दायित्व सिर्जना हुनेछ,’ स्रोतले भन्यो ।

सरकारले चालु आवका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबर बजेट ल्याएको थियो । तर, बजेटको अर्धवार्षिक समीक्षा मार्फत सरकारले १६ खर्ब ९२ अर्ब ९३ करोड ३५ लाखमात्र खर्च हुने अनुमान गरेको थियो । २० खर्बको बजेट बनाउँदा गत सालको विनियोजन भन्दा ८ प्रतिशत र संशोधित खर्च अनुमानको तुलनामा १८ प्रतिशत ठूलो हुनेछ ।

अघिल्लो आवको यथार्थ खर्चको तुलनामा २० प्रतिशतसम्म बजेट वृद्धिलाई सामान्य रूपमा लिने गरिन्छ । आज साँझ वा बिहीबार बिहान स्रोत समितिको बैठक बसेर बजेटको अन्तिम आकार निर्धारण गर्ने तयारी समेत छ ।

योजना आयोगले गरेको अनुमान अनुसार स्रोतमा १७ दशमलव १ प्रतिशत हाराहारी वृद्धि हुनेछ । सोही अनुसार आयोगले बजेट आकारको त्रिवर्षीय अनुमान गरेको हो । आगामी आव राजस्वको आकार १४ खर्ब ६२ अर्बसम्म पुग्ने अनुमान छ । यसमा तल्लो सरकारमा बाँडफाँटबाट जाने राजस्व भने समावेश गरिएको छैन ।

यस वर्ष बाँडफाँट बाहेक १२ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ र बाँडफाँटमा जाने रकम सहित १४ खर्ब १९ अर्ब राजस्व उठ्ने अनुमान गरिएको थियो । तर, मंगलबारसम्म राजस्व संकलन लक्ष्यको ६७।७९ प्रतिशतमात्र छ । जुन ९ खर्ब ६२ अर्ब १९ करोड हाराहारी हो ।

यस वर्ष ५२ अर्ब ३२ करोड रुपैयाँ वैदेशिक अनुदान उठ्ने अनुमान गरेकोमा १६ अर्ब ६१ करोडमात्र अनुदान उठेको छ । वैदेशिक ऋणसमेत ५० प्रतिशतभन्दा तल प्राप्त भएको छ । आन्तरिक ऋण भने लक्ष्य अनुसार उठाइएको छ ।

यस्तो छ मध्यमकालीन खर्च संरचना विनियोजित तथा प्रक्षेपित बजेट

२०८१/८२  : १८ खर्ब ६० अर्ब ३० करोड (विनियोजन)

२०८२/८३ : २० खर्ब ८८ अर्ब २१ करोड (प्रक्षेपण)

२०८३/८४ : २४ खर्ब २९ अर्ब ९८ करोड (प्रक्षेपण)

कति छ राजस्व अनुमान ?

२०८१/८२ : १२ खर्ब ६० अर्ब ३० करोड

२०८२/८३ : १४ खर्ब ६२ अर्ब ६६ करोड

२०८३/८४ : १७ खर्ब ३ अर्ब २३ करोड