२०८२ जेठ ७, मङ्गलवार , ०७:४३:३१ बजे

Sajhamanch
'

गाजामा आक्रमण नरोके इजरायलविरुद्ध कारबाही गर्ने बेलायत, फ्रान्स र क्यानडाको चेतावनी

मङ्गलवार, जेठ ७, २०८२

झापा । गाजामा हवाई आक्रमण जारी रहँदा बेलायत, फ्रान्स र क्यानडाले इजरायलविरुद्ध कारबाही गर्ने चेतावनी दिएका छन् ।

बेलायतका प्रधानमन्त्री किअर स्टार्मर, फ्रान्सका राष्ट्रपनि इम्यानुएल म्याक्रोन र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले संयुक्त विज्ञप्ति निकालेर इजरायललाई आफ्नो शैली परिवर्तन आग्रह गरेका बीबीसीले जनाएको छ । यदि इजरायलले आक्रमण नरोकेमा उपयुक्त कदम चाल्ने चेतावनी पनि उनीहरूले दिएका छन् ।

यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बेलायत, फ्रान्स र क्यानडालाई जवाफ दिँदै हमासले आफ्ना बन्धकहरूलाई रिहा गर्ने र हतियार राख्ने हो भने युद्ध भोलि समाप्त हुन सक्ने बताएको खबरमा उल्लेख छ ।

आइतवार इजरायलले ११ हप्ताको नाकाबन्दी अन्त्य गर्दै गाजामा सहायता पठाउन अनुमति दिने बताएको थियो तर संयुक्त राष्ट्रसङ्घका मानवीय प्रमुख टम फ्लेचरले अनुमति दिइएको पाँच वटा ट्रक पर्याप्त नभएको बताएका छन् । उनले यदि थप सहायता नपुगेमा आउँदो ४८ घण्टामा गाजामा १४ हजार शिशुको ज्यान जान सक्ने बताए।

इजरायलले पछिल्लो सैन्य कारबाही थालेपछि गाजाका विभिन्न ठाउँ खाली गर्न आदेश दिएको छ ।