२०८२ जेठ १५, बिहिवार , ०३:३६:४९ बजे

Sajhamanch
'

मनसुनमा देशभर करिब २० लाख जनसंख्या प्रभावित हुने अनुमान, सबैभन्दा बढी लुम्बिनीमा

बुधवार, जेठ १४, २०८२

काठमाडौं । सरकारले यस वर्षको मनसुन अवधिमा देशभर ४ लाख ५७ हजार १४५ घरधुरीका १९ लाख ९७ हजार ७३१ जनसंख्या प्रभावित हुने आँकलन गरेको छ । सबैभन्दा धेरै जनसंख्या लुम्बिनी प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा प्रभावित हुने आँकलन छ ।

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा गरेको वर्षाको प्रक्षेपणलाई समेत आधार मानेर राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो आँकलन गरेको हो ।

विभागले देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने आँकलन गरेको छ । त्यसमध्ये पनि सबैभन्दा बढी वर्षा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा हुने विभागको प्रक्षेपण छ ।

सोही प्रक्षेपणको आधारमा प्राधिकरणले लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै ५ लाख २३ हजार ६५६ जनसंख्या प्रभावित हुने आँकलन गरेको प्रवक्ता रामबहादुर केसीले बताए । उनका अनुसार लुम्बिनीमा १ लाख १९ हजार ८३० घरधुरी प्रभावित हुने अनुमान छ ।

लुम्बिनीपछि सबैभन्दा धेरै बागमती प्रदेशको जनसंख्या प्रभावित हुने अनुमान छ । बागमतीमा ३ लाख २७ हजार ३७६ जना मनसुनबाट प्रभावित हुने प्राधिकरणको अनुमान छ ।

यसैगरी गण्डकी प्रदेशमा २ लाख ८७ हजार १०७, कोशीमा २ लाख ७५ हजार ८६७, मधेशमा २ लाख २८ हजार ६८७, सुदूरपश्चिममा २ लाख २७ हजार ७३० र कर्णालीमा सबैभन्दा कम १ लाख २७ हजार ३०८ जनसंख्या मनसुन अवधिमा प्रभावित हुने अनुमान छ ।

जलवायु परिवर्तनको असरले हिमालय क्षेत्र संकटमा परिरहेका बेला यस वर्षको मनसुन अवधिमा नेपालका हिमाली जिल्लाहरूमै सरदरभन्दा बढी वर्षा र गर्मी हुने सम्भावना देखिएको छ । हिउँ पर्ने ठाउँमा वर्षा र गर्मी सरदरभन्दा बढी हुने संकेतलाई विज्ञहरूले चिन्ताजनक मानेका छन् ।

यस वर्षको मनसुन यसै साताको अन्तिमतिर नेपाल प्रवेश गर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । तर हावापानीको हालसम्मको अवस्था हेर्दा यस वर्ष जुन १३ भन्दा अघि नै मनसुन भित्रिने सम्भावना बढी देखिएको महाशाखाका मौसमविद गोविन्द झा बताउँछन् ।

प्रिमनसुन अवधिमा सरदरभन्दा बढी वर्षा भएकाले जमिन भिजेको र मनसुनमा पनि सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेकाले जनधनको क्षति हुने सम्भावना रहेकाले सतर्कता अपनाउन पनि मौसमविदले सुझाव दिएका छन् ।

त्यसैले आज बिहान गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना पारित गरेको छ ।

कार्ययोजना अनुसार बाढी, पहिरो तथा पानीजन्य अन्य विपद सम्बन्धी सचेतनाका प्रचार प्रसार गर्ने, बाढी, डुबान, पहिरो, संक्रमक रोग लगायतको पूर्वसूचनाका सचेतना एसएमएस पठाउने, टेलिफोन टावरहरुमा क्षति पुगेमा बीटीएस भ्यानको व्यवस्था गर्ने लगायतका निर्णय गरेको छ ।

साथै हवाई उद्धारका लागि तीन वटा हेलिकप्टर सुर्खेत, काठमाडौंमा स्ट्याण्डबाई राख्ने निर्णय पनि भएको छ ।

सुर्खेतको एयरबेसमा हुने एउटा हेलिकप्टरले कर्णाली, लुम्बिनी र सदूरपश्चिम प्रदेशलाई समेट्ने छ । यस्तै काठमाडौंमा रहने दुई हेलिकप्टरलाई बागमती, गण्डकी, कोशी र मधेश प्रदेशमा परिचालन गरिने छ ।

विपदको बेला उद्धार र राहतमा खटिने कम्पोजिट क्विक रियाक्सन टिमलाई १५ मिनेटभित्र हवाई साधनद्वारा परिचाललन गर्न सक्ने गरी गौचर ब्यारेक काठमाडौंमा तयारी हालतमा राखिएको छ ।

विपदको बेला सेना, प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस, निजी क्षेत्र र प्राय सबै मन्त्रालयहरुले गर्नुपर्ने कार्यजिम्मेवारी समेत तोकिएको छ ।

सम्बन्धित खबर