
ढाका । बंगबन्धुको बायोपिक फिल्म ‘मुजीब स् द मेकिङ अफ नेसन’मा शेख हसिनाको भूमिका निर्वाह गर्ने चर्चित बंगलादेशी अभिनेत्री नुसरत फारिया पक्राउ परेकी छन् । हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई पक्राउ गरिएको बंगलादेशी संचारमाध्यमले जनाएका छन् ।
सरकारविरोधी प्रदर्शनको क्रममा हत्या अपराधको घटनासँग जोडिएको भन्दै उनलाई पक्राउ गरिएको द ट्रिब्युनले जनाएको छ । सरकारविरुद्ध विद्यार्थीले चर्काएको आन्दोलनको क्रममा राजधानी ढाको भतरा क्षेत्रमा विद्यार्थीको संदिग्ध हत्याको घटनामा संलग्न भएको भन्दै नुसरतसहित १७ कलाकारविरुद्ध मुद्दा दर्ता गरिएको जनाइएको छ ।
भातरा पुलिस स्टेसनका सुजन हाक्युले आज बिहान नुसरतलाई पक्राउ गरिएको बताए । ‘हामीले प्राप्त सूचनाको आधारमा विमानस्थलको अध्यागमन कार्यालयबाट उनलाई पक्राउ गरिएको हो’ उनले भने । विद्यार्थीको आन्दोलनको क्रममा उनीविरुद्ध प्रहरीमा उजुरी दर्ता भएको थियो । बंगलादेशी संचारमाध्यमका अनुसार आज बिहान नुसरत थाइल्याण्ड जाने तयारीमा थिइन् ।
सन् २०१५ को फिल्म ‘आशिकी’बाट उनले फिल्ममा डेब्यु गरेकी थिइन् । यो फिल्म बंगलादेशमा सुपरहिट भएको थियो । सन् २०२३ मा रिलिज भएको फिल्म ‘मुजीब’मा उनले शेख हसिनाको भूमिका निर्वाह गरेकी थिइन् । हसिनाको भूमिका निर्वाह गरेपछि उनले आफूले भाग्यमानी ठानेको त्यतिबेला बताएकी थिइन् ।नुसरत पक्राउको विरोधमा प्रतिक्रिया आउन थालेको छ । धेरैले यसलाई लज्जास्पद घटना भनेका छन् । मुद्दाको बयानका अनुसार फरिया र अन्य १६ जना कलाकार अपु विश्वास, निपुन अक्टर, आशना हबिब भावना र जायेद खानलाई पनि मुद्दा दायर गरिएको छ ।