२०८२ जेठ ६, सोमवार , ०२:२४:१८ बजे

Sajhamanch
'

इजरायलले गाजामा सीमित मात्रामा खाद्यान्न प्रवेश गर्न दिने

सोमवार, जेठ ६, २०८२

झापा । इजरायलले गाजामा सीमित मात्रामा खाद्यान्न प्रवेश गर्न दिने घोषणा गरेको छ । १० हप्तादेखिको नाकाबन्दीपछि इजरायली सेनाको सिफारिशमा इजरायलले गाजामा खाद्यान्न प्रवेशमा रोक नलगाउने निर्णय गरेको बीबीसीले जनाएको छ ।

इजरायलको लगातारको आक्रमण र खाद्यान्न आपूर्तिमा रोक र विभिन्न मानवीय सहायता वितरणमा समस्या हुँदा गाजाका नागरिकको अवस्था बिग्रिँदै गएको थियो । नाकाबन्दी खुलाउन राष्ट्रसङ्घले समेत इजरायलमाथि दबाव दिँदै आएको थियो ।

यसैबीच गाजामा इजरायली स्थल आक्रमण तीव्र बनेको छ । खान युनिस, बेत लाहिया र जबालिया शरणार्थी शिविर र अस्पतालमा आक्रमण हुँदा पछिल्लो २४ घण्टामा १०३ जनाको ज्यान गएको छ ।

आक्रमणपछि इण्डोनेशियाली अस्पतालसहित उत्तरी गाजाका थुप्रै अस्पतालको सेवा बन्द भएको छ ।

यसैबीच कतारमा युद्धविरामका लागि वार्ता भइरहे पनि हमासले इजरायलको कठोरताका कारण प्रगति नभएको बताएको छ । हमासले पूर्ण युद्धविराम र मानवीय सहायता प्रवेशको सट्टामा सबै बन्धक रिहा गर्ने प्रस्ताव गरेको छ तर इजरायलले अस्थायी युद्धविराम चाहेको जनाएको छ ।

सम्बन्धित खबर