२०८२ जेठ ६, सोमवार , ०८:३५:४६ बजे

Sajhamanch
'

शिवसताक्षी १० मा एक घर एक गाई कार्यक्रम, कृषिमा प्राथमिकता, पूर्वाधार र उद्यममा लगानी

सोमवार, जेठ ६, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. १० ले कृषकलाई प्राथमिकतामा राखेर काम गर्दै आएको पाइएको छ ।

वडाले आर्थिक वर्ष २०८१/०८२को बजेटबाट कृषि उत्पादन बढाउन १ हजार ३०० जनालाई मकैको वीउ, ११ जना कृषकलाई सिंचाईको लागि ३ इन्चको पानी तान्ने मोटर तथा गाई खरिद गर्न चाहने कृषकलाई रकम सहयोग गर्दै आएको छ ।

वडाले कृषकलाई चालू आर्थिक वर्ष ३ लाख रुपैयाँ बराबरको मकैको वीउ वितरण गरेको वडा कार्यालयले जनाएको छ। त्यस्तै आफ्नो वडाका कृषकलाई उत्पादनमुखी बनाउने कार्यक्रम अन्तर्गत वडाले ११ जना कृषकलाई सिंचाईको लागि ३ इन्चको पानी तान्ने मोटर वितरण गरेको छ । कृषकको २५ प्रतिशत लागत सहभागितामा मोटर वितरण गरिएको वडाध्यक्ष हर्क सिगुले बताए ।

वडाध्यक्ष सिगुका अनुसार वडाले अर्ग्यानिक सब्जी खेतीतर्फ कृषकलाई आकर्षण गरिएको छ ।

आफ्नो वडामा एक घर एक गाई पालन कार्यक्रम लागू गरिएको वडाध्यक्ष सिगुको भनाई छ । यहाँका कृषकलाई एउटा गाई अनिवार्य पाल्नु पर्ने हुन्छ ।

‘बालबालिका तथा बुढाबुढीहरुलाई दूध अत्यन्त महत्वपूर्ण पेय पदार्थ भएकाले एक घर एक गाईको अवधारणा हामीले ल्याएका हौं’ वडाध्यक्ष सिुगले भने, ‘कृषकले उत्पादन गरेको दूध बिक्री गर्न चाहनेका लागि पनि चिस्यान केन्द्र निर्माण गरिएको छ।’

आफूले खाएर बचेको दूध माइधारमा रहेको चिस्यान केन्द्रले लिने प्रावधान वडाले मिलाएको उनको भनाई छ । वडासँगको साझेदारी कार्यक्रम अन्तर्गत निर्माण गरिएको चिस्यान केन्द्रमा दैनिक ३५० लिटर दूध संकलन हुने गरेको उनले बताए ।

गाई पालेर जीविकोपार्जन गर्न चाहने कृषकलाई वडाले केही रकम सहयोग प्रदान गर्दै आएको उनले बताए ।

गाईपालनका लागि सहज होस् भन्ने उद्देश्यले वडाले चालू आवमा ३ लाख ५० हजार रुपैयाँ बराबरको कुटी काट्ने मेसिन वितरण गर्ने तयारी गरेको जनाइएको छ ।

वडाका महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले तालिम लिएर घरै बसेका दिदीबहिनीका लागि ३ लाख ५० हजार रुपैयाँ बरारबको लुगा सिउने मेसिन पनि वितरण गरिएको छ । वडाका २२ जना महिलालाई मेसिन वितरण गरिएको महिला सदस्य कोपिला चिमोरिया मैनालीले जानकारी दिइन् ।

वडामा हालसम्म ६ किमी सडक कालोपत्रे गरिएको छ । नगरबाट विनियोजत रकमबाट चालू आवमा ४ वटा सडकको दुवैतर्फ ड्रेन निर्माण गरिएको वडा सदस्य दिपक पोखरेलले जानकारी दिए ।

उक्त सडकहरुका आगामी वर्ष कालोपत्रे गर्ने तयारी छ । वडामा आउने सिमित सिलिङ बजेटले व्यवस्थित सडक निर्माण गर्न एकैपल्ट नपुग्ने भएकाले पनि वडाले क्रमिक रुपमा सडकको काम गर्दै आएको वडा सदस्य पोखरेलको भनाई छ।

वडा भित्र रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार र विद्यालय घेराबारा निर्माणका लागि चालु वर्षमा २ लाख ५० हजार विनियोजित बजेटमा बालज्योति आविलाई १ लाख ५० हजार र श्रीजंगा आविलाई १ लाख रुपैयाँ प्रदान गरिएको वडा कार्यालयले जनाएको छ ।

आफ्नै वडामा अमिन तालिम सञ्चालन गरेर वडाका युवाहरुलाई जग्गा नाप सम्बन्धी ज्ञान आर्जन गर्ने मौका प्रदान गरिएको वडा कार्यालयले जनाएको छ । त्यस्तै युवालाई स्वरोजगार बनाउन सीपमुलक मोटर मर्मत तथा विद्युत जडान तालिम पनि वडाले सञ्चालन गरेको छ।

सुत्केरी महिलाहरुका लागि सुत्केरी पोषण कार्यक्रम, वडाका युवा युवतीहरुलाई लागु पदार्थ दुर्व्यसनीबाट जोगाउन लागुऔषध विरुद्ध तालिमहरु सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ ।

वडाको एकमात्र हाट बजार लाग्ने मंगलबारे माइधार हाट बजार मर्मतमा १ लाख खर्च गरेको छ । जसले हाट बजार लाग्न सहज बनाइएको वडाध्यक्ष सिगुको भनाई छ ।

वडा भित्र रहेका नागरिकलाई स्वस्थ राख्नका लागि खुल्ला व्यायामशाला निर्माण गर्न प्रकृया अघि बढाइएको वडा कार्यालयले जनाएको छ । वडाका चालु आवका सम्पूर्ण कामहरु जेष्ठ सम्ममा सम्पन्न गर्ने तयारी रहेको बताइएको छ।

सम्बन्धित खबर