२०८२ जेठ ५, आइतवार , ०४:५१:०२ बजे

Sajhamanch
'

युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा

आइतवार, जेठ ५, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गरी युक्रेनमा ‘रक्तपात’ अन्त्य गर्ने बताएका छन् ।

यो घोषणा रुस र युक्रेनबीच तीन वर्षभन्दा बढी समयपछि टर्कीको इस्तानबुलमा भएको पहिलो प्रत्यक्ष वार्ताको एक दिनपछि आएको हो । ३० दिनसम्म विना शर्त युद्धविराम गर्न रुसलाई दबाव दिँदै आएका ट्रम्पले भोलि पुटिनसँग फोनमा कुरा गर्ने बताएका हुन ।

सामाजिक सञ्जाल ट्रुथ सोसलमा ट्रम्पले पुटिनसँगको फोन वार्तापछि रुसी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र नाटो अधिकारीहरूसँग कुरा गर्ने बताए। ट्रम्पले यो एक उत्पादक दिन हुने र कहिल्यै नहुनुपर्ने अत्यन्तै हिंसात्मक युद्ध समाप्त हुने लेखेका छन् ।

यसअघि हिजो क्रेमलिनले पुटिन र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीचको बैठक दुवै पक्ष सहमतिमा पुगेपछि मात्र सम्भव हुने बताएको थियो । रुस र युक्रेबीच भएको वार्ता कुनै पनि सफलतामा पुग्न नसके पनि कैदी आदानप्रदानमा भने सहमति भएको थियो ।

रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा पूर्णस्तरमा आक्रमण शुरू गरेको थियो । इस्तानबुलमा भएको वार्तापछि युक्रेनले पनि पूर्ण र विना शर्त युद्धविरामका लागि आफ्नो आह्वान दोहोर्‍याएको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँगको टेलिफोन वार्तामा पछिल्लो कैदी आदानप्रदानको स्वागत गरेको एएफपीले जनाएको छ ।

सीबीएसलाई दिएको अन्तर्वार्तामा अमेरिकी विदेशमन्त्री रुबियोले आफ्ना समकक्षी लाभरोभले आफूलाई रुसले युद्धविरामका लागि आफ्ना आवश्यकताहरू उल्लेख गरिएको दस्तावेज तयार गरिरहेको बताएको जानकारी दिए।