२०८२ जेठ ५, आइतवार , ०९:३६:४६ बजे

Sajhamanch
'

सगरमाथा संवाद आज समापन हुँदै : काठमाडौं घोषणापत्र जारी गर्ने

आइतवार, जेठ ५, २०८२

काठमाडौं । काठमाडौंमा अस्ति शुक्रवारदेखि शुरु भएको सगरमाथा संवाद आज समापन हुँदैछ । जलवायु परिवर्तनबाट सिर्जित समस्या विश्व समुदायलाई महसुस गराउने मुख्य उदेश्यले काठमाडौंमा पहिलो पटक तीन दिने सगरमाथा संवाद आयोजना भएको हो ।

जलवायु न्यायका कार्य तथा वित्तीय चुनौती विषय उच्चस्तरीय कार्यक्रमपछि आज काठमाडौं घोषणा पत्र जारी हुनेछ । समापन सत्र सम्पन्न भएपछि सगरमाथा संवाद पनि औपचारिक रूपमा समापन हुनेछ ।

सगरमाथा संवादमा विभिन्न १२ विषयका समानान्तर सत्र सम्पन्न भइसकेका छन् । उद्घाटन समारोहपछि हिमनदीहरूको संरक्षणका लागि एक दशमलव पाँच डिग्री तापक्रम सीमित गर्नुपर्ने आवश्यकता, उच्च भूभागदेखि टापुसम्मको सम्बन्ध, खाद्य सुरक्षा र जलवायु उत्थानशील कृषि, हिमाली समुदायको नेतृत्वमा जलवायु परिवर्तन न्यूनीकरणसम्बन्धी पहललगायतका विषयमा समानान्तर सत्र सम्पन्न भएका हुन् ।

शुक्रबार भएको उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गरेका थिए। त्यस्तै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले स्वागत गरेकी थिइन ।

सरकारले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’को मुख्य विषय ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ रहेको छ ।

सम्मेलनमा विभिन्न देशका १७५ विदेशी पाहुनासहित ३५० जनाभन्दा धेरै विशिष्ट व्यक्तित्वको सहभागिता छ । नेपालले हरेक दुई वर्षमा सगरमाथा संवादको आयोजना गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।

सम्बन्धित खबर