
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले बहराइनलाई डकवर्थ लुइस नियमका आधारमा ६ विकेटले हराएको छ ।
वर्षाले प्रभावित खेलमा ७ ओभरमा ५६ रनको लक्ष्य पाएको नेपालले ५ ओभर ४ बलमा ४ विकेट गुमाएर भेटायो । नेपालकी कप्तान इन्दु बर्माले ७ बलमा नटआउट २४ रन बनाइन् । बहराइनकी पवित्रा शेट्टीले ३ विकेट लिइन् ।
यसअघि थाइल्यान्डको टेर्डथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बहराइनले १२ ओभर ४ बलमा ३ विकेट गुमाएर ७६ रन बनाएको अवस्थामा खेल रोकिएको थियो । बहराइनकी रसिका रोड्रिगोले सबैभन्दा धेरै २४ रन बनाइन् । बहराइनका ३ जनै खेलाडी रनआउट भए ।
यो जीतसँगै नेपाल ४ खेलमा ५ अङ्कसहित समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ । बहराइन ३ खेलमा १ अङ्कसहित पुछारमा छ । यस्तै हङकङ ३ खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा छ ।
यो समूहको अन्तिम खेलमा भोलि बहराइन र हङकङ खेल्दैछन् । यो खेलले नेपाल ‘सुपर थ्री’ मा पुग्नेरनपुग्ने टुङ्गो लाग्नेछ । यो खेल हङकङले हार्यो भने नेपाल सुपर थ्रीमा पुग्नेछ । बराबरीले पनि नेट रनरेटमा अघि रहँदै हङकङ सुपर थ्रीमा पुग्नेछ ।
महिला टी–२० विश्वकप एशिया छनोटमा सहभागी भएका ९ टोलीलाई ३ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेता सुपर थ्री मा पुग्नेछन् । सुपर थ्रीको शीर्ष २ टोली ग्लोबल छनोटमा पुग्नेछन् ।