
झापा । जर्मनीको अर्थतन्त्र सन् २०२५ मा शून्य दशमलव २ प्रतिशतले सङ्कुचित हुने प्रक्षेपण गरिएको छ । जर्मन आर्थिक संस्थान (आईडब्ल्यू) ले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार, जर्मनी विश्वका अन्य प्रमुख अर्थतन्त्रहरूभन्दा पछाडि पर्नेछ ।
अर्थतन्त्रमा लगातार दुई वर्षको गिरावटपछि, अमेरिकाको व्यापार नीति, विश्वव्यापी अनिश्चितता र लगानीको कम स्तर जर्मन अर्थतन्त्रमा मुख्य चुनौतीका रूपमा देखिएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । अन्य ठूला अर्थतन्त्रहरू यो वर्ष सुधारको बाटोमा रहेको देखिए पनि आईडब्ल्यूको प्रतिवेदन अनुसार जर्मनी भने मन्दीमै रहनेछ ।
प्रतिवेदनमा अमेरिकी व्यापार नीतिलाई विश्व अर्थतन्त्रको सबैभन्दा ठूलो जोखिमका रूपमा औँल्याइएको छ, जसले गर्दा विश्व उत्पादन शून्य दशमलव ८ प्रतिशतले घट्न सक्ने पूर्वानुमान गरिएको छ । यो आर्थिक सङ्कटको असर रोजगार बजारमा पनि पर्नेछ ।
सन् २०२५ को गर्मीयामसम्म बेरोजगारको सङ्ख्या ३० लाख पुग्ने अनुमान गरिएको छ । संस्थाले नयाँ सङ्घीय सरकारले यथाशीघ्र र प्रभावकारी कदम चालेर अर्थतन्त्र पुनःजागृत गर्नुपर्ने र संरचनात्मक चुनौतीहरूको सामना गर्नुपर्ने आवश्यकता रहेको बताएको छ ।
जर्मन केन्द्रीय बैङ्कले अप्रिल अन्त्यमा प्रकाशित गरेको अर्को प्रतिवेदनमा पनि अर्थतन्त्रको स्थितिलाई झनै नकारात्मक देखाइएको छ ।
पहिलो त्रैमासिकमा अलिकति सुधार देखिए पनि दोस्रो त्रैमासिकमा फेरि मन्दीको सम्भावना रहेको उल्लेख गरिएको छ । समग्रमा, जर्मन अर्थतन्त्रको भविष्य अझै अनिश्चित र चिन्ताजनक देखिएको छ ।