२०८२ जेठ २, बिहिवार , ०९:४४:५६ बजे

Sajhamanch
'

कोशीमा समुदायगत धार्मिक द्वन्द्व चुनौती बनेको निष्कर्ष

बिहिवार, जेठ २, २०८२

विराटनगर । पहिचान र व्यवस्थाविरुद्ध हुने गरेको अन्दोलनले प्रदेशको शान्ति सुरक्षालाई खलल पुर्‍याउने भएकाले सचेतनाका लागि सुरक्षा निकायका प्रमुखहरूले कोशी प्रदेशमा ब्रिफिङ गरेका छन् ।

गृहमन्त्री रमेश लेखक र तीन वटै सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा विराटनगरमा बुधबार दिनभर भएको प्रदेशस्तरीय सुरक्षा बैठकमा पहिचानको मुद्दा र व्यवस्थाविरुद्ध आन्दोलनले यहाँको शान्ति सुरक्षामा चुनौती थपेको निष्कर्ष निकालेको हो । ‘कोशीमा पहिचान स्थापित गर्नुपर्छ भन्ने खालको विचारहरू उठेका छन् । ठाउँ–ठाउँमा विकास निर्माणको कुरामा अवरोध पनि भएको छ ।

ताप्लेजुङमा केबलकार बनाउनु हुन्न भन्ने वा त्यसलाई एक ढंगले लिनुपर्छ भन्ने कुरा पनि उठेका छन्,’ गृहमन्त्री लेखकले भने, ‘पूर्वराजावादीहरूले फेरि राजतन्त्र ल्याउने भनेर गरिरहेका गतिविधिहरूको पनि समीक्षा भएको छ ।’

संविधान र व्यवस्थाविरोधी गतिविधिलाई राजनीतिक रूपले पनि सामना गर्नुपर्ने र यसलाई प्रशासनिक हिसाबले पनि संविधानको रक्षा गर्ने, व्यवस्थाको रक्षा गर्ने काममा सरकार लाग्नुपर्ने निष्कर्ष निकालिएको उनले बताए ।

कोशीमा देखिएको शान्ति सुरक्षाको चुनौती र समस्याहरूको पहिचानका लागि गृहमन्त्री लेखक, नेपाली सेनाका रथी निर्मला कुमार थापा, नेपाल प्रहरीका आईजीपी दीपक थापा, सशस्त्र प्रहरीका राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हतुराज थापालगायत सुरक्षा निकायका टोली मङ्गलबार विराटनगर आइपुगेका थियो ।

कोशी प्रदेशका विभिन्न ठाउँमा देखिएका समस्याको पहिचान तथा समाधान पहल गर्ने गरी सुरु भएको उक्त बैठक बिहान ९ बजे गृहमन्त्री लेखकले उद्घाटन गरेका थिए ।

कोशीका १४ जिल्लाका प्रमुखले जिल्लागत सुरक्षा अवस्थाबारे ब्रिफिङ गरेक थिए । बैठकमा १०–१० मिनेटको समय लिएर इलामबाट सुरक्षा अवस्थाबारे ब्रिफिङ सुरु भएको थियो ।

त्यसपछि उदयपुर, ओखलढुङ्गा, खोटाङ, झापा, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, पाँचथर, भोजपुर, मोरङ, सुनसरी, सोलुखुम्बु र संखुवासभाको जिल्ला सुरक्षा समितिको प्रमुखले जिल्लागत रुपमा ब्रिफिङ गरेका थिए । जिल्ला सुरक्षा निकायका अध्यक्ष प्रमुख जिल्ला अधिकारी हुने गर्छन् ।

प्रत्येक जिल्लाको सुरक्षाको ब्रिफिङ पनि प्रमुख जिल्ला अधिकारीले नै गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखहरूलाई ब्रिफिङ गरेका थिए । पहिचान र व्यवस्थाविरुद्ध आन्दोलनबाहेक झापा, मोरङ र सुनसरी तराईका जिल्लामा हुने गरेको सीमावर्ती अपराधका घटनाले पनि सुरक्षा चुनौती थपिएको बैठकले निष्कर्ष निकालेको सुरक्षा निकायका एक अधिकारीले बताए ।

धार्मिक र पहिचानको मुद्दाले कोशी प्रदेशमा जरा गाड्दै गरेको भन्दै सुरक्षा निकायका प्रमुखले त्यसबारे सचेत हुनुपर्ने अवस्था आएको गृहमन्त्रीले तीन वटै सुरक्षा निकायका प्रमुखलाई ब्रिफिङ गरेका थिए ।

पहिचानको नाममा र धार्मिक मुद्दाले सुरक्षा थे्रट बढ्ने भएकाले राज्यका उच्च नेतृत्वले त्यसलाई कसरी निस्तेज पार्ने भन्ने रणनीति तयार गर्नुपर्ने गृह मन्त्रालयको नेतृत्वलाई सुझाएका छन् ।

‘खास गरेर अहिले देखिएको चुनौती भनेको लागु औषध, सडक दुर्घटना, आत्महत्या, साइबर क्राइमको कुरा पनि छ । तराई मधेशतिर जातीय द्वन्द्व, धार्मिक द्वन्द्वको कुरा, जातीय धार्मिक संघसंगठनहरूले आपसमा द्वन्द्व गरिरहेको अवस्था छ । यी सबै कुरालाई कसरी सम्बोधन गर्ने भन्ने कुरा पनि गोष्ठीमा छलफल भयो,’ गृहमन्त्री लेखकले भने ।

सम्बन्धित खबर