२०८२ वैशाख २९, सोमवार , १०:४०:१० बजे

Sajhamanch
'

भारत–पाकिस्तानबीच आज वार्ता हुँदै

सोमवार, वैशाख २९, २०८२

झापा । युद्ध तनाव व्यवस्थापनका लागि भारत र पाकिस्तानबीच आज वार्ता हुँदै छ । दुई हप्ताअघि जम्मू–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानबीच युद्ध शुरू भएको थियो ।

अस्ति शनिवार मात्रै पूर्णतहको युद्धविराम घोषणा भएको थियो । आपसी वार्ताबाट विवाद समाधान गर्ने उद्देश्यसहित युद्धविराम गरेका दुई देशबीच पूर्व निर्धारित तालिका अनुसार आज वार्ता हुन लागेको हो ।

आज दिउँसो दुई देशका सैन्य उच्चधिकारीसहितको वार्ता तय भएको भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ ।

वार्ताको नेतृत्व भारतका सैन्य अपरेशन महानिर्देशक र पाकिस्तानका सैन्य अपरेशन महानिर्देशकले गर्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारत–पाकिस्तानबीच लामो समयदेखि जम्मू–कश्मीर क्षेत्रको स्वामित्वलाई लिएर विवाद हुँदै आएको छ । वार्तामार्फत विवाद समाधान हुने विश्वास लिइएको छ ।

पछिल्लो पटक दुईदेशबीच सैन्य कारबाही हुन थालेपछि छिमेकी राष्ट्र नेपाल र चीनसहित अमेरिका लगायत युरोपियन देशहरुले विवादका विषयमा वार्ता गरेर अघि बढ्न दुवै देशलाई अपिल गरेका थिए ।

अमेरिकाले दुई देशबीच तत्काल युद्धविरामसहित विवादको विषय वार्तामार्फत सुल्झाउन सुझाव दिँदै युद्धविरामका लागि पहल गरेको थियो ।

अमेरिकाले दुई देशबीच वार्ताका माध्यमले कुरा नटुङ्गिए आफू मध्यस्थता गर्न तयार रहेको पनि बताएको थियो ।

सम्बन्धित खबर