
झापा । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शान्तिका लागि युक्रेनसँग प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका छन् ।
उनले रुस–युक्रेनबीचमा दीगो शान्ति स्थापना र युद्धका कारणहरु खोजी गरी समाधानका लागि प्रत्यक्ष वार्ताको प्रस्ताव गरेको बीबीसीले जनाएको छ ।
साथै पुटिनले आउँदो बिहीवार टर्कीएको इस्तानबुलमा प्रत्यक्ष वार्ताको प्रस्ताव गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
वार्ताको मध्यस्थता र आवश्यक समन्वय गरिदिन टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई भनेको पनि पुटिनले जानकारी दिएका छन् । त्यसअनुसार एर्दोगानले सकारात्मक प्रतिक्रिया दिएको खबरमा उल्लेख छ ।
रुसी राष्ट्रपतिले अबको निर्णय युक्रेनी अधिकारीहरूको हातमा रहेको बताएका छन् । पुटिनको प्रस्तावबारे युक्रेनले अहिलेसम्म कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामका लागि दुवै देशलाई दबाव दिँदै आएका छन् । पछिल्लो समय अमेरिका र युक्रेनबीच महत्वपूर्ण खनिज सम्झौता भइसकेको छ ।
त्यस्तै फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन, जर्मनीका चान्सलर फ्रेडरिक मर्ज, पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्क तथा बेलायतका प्रधानमन्त्री कीर स्टार्मरले हिजो युक्रेनको राजधानी कीएभको संयुक्त ऐतिहासिक भ्रमण समेत गरेका छन् ।