
झापा । जम्मू–कश्मीरको पुंछ सेक्टरमा पाकिस्तानी सेनाले गरेको गोलबारीबाट भारतीय सेनाका एक जवानको ज्यान गएको छ ।
आज बिहानै भएको घटनामा दिनेशकुमार शर्माको ज्यान गएको भारतीय सेनाले जानकारी दिएको छ । भारतले अपरेशन सिन्दूर नाम दिएर पाकिस्तानमा गरेको हवाई आक्रमणमा ३१ जनाको ज्यान गएको छ । पाकिस्तानको पक्षबाट भएको गोला बारुद बाट पनि काश्मीरमा १५ जनाको ज्यान गइसकेको छ ।
गएको अप्रिल २२ मा कश्मीरको पहलगाममा भएको आक्रमणमा एक नेपालीसहित २६ पर्यटकको ज्यान गएको थियो । यही घटनाको बदलामा भारतले आक्रमण गरेको बताएको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान बीचको तनाव रोक्नका लागि सहयोग गर्न आफू तयार रहेको बताएका छन् ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले पनि दक्षिण एशियामा आएको यो सङ्कटपूर्ण अवस्थाको समाधान गर्नका लागि दुवै पक्षसँग वार्ता भइरहेको पनि जानकारी दिएको बीबीसीले जनाएको छ ।
त्यस्तै युक्रेनको विदेश मन्त्रालयले भारत र पाकिस्तानलाई संयमता अपनाउन र कूटनीतिक वार्तालाई प्राथमिकता दिन अपिल गरेको छ ।
युक्रेनले दक्षिण एशियाको सुरक्षा अवस्था बिग्रन सक्ने कदमहरूबाट बच्नुपर्नेमा जोड दिएको छ । यस्तै भारत र पाकिस्तानबीच तनाव कम गर्न दुवै देशलाई सहयोग गर्न तयार रहेको बेलायतले जनाएको छ ।