२०८२ जेठ ११, आइतवार , १२:५७:२५ बजे

Sajhamanch
'

एकीकृत समाजवादीद्वारा कोशीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र पेश

सोमवार, वैशाख २२, २०८२

विराटनगर । नेकपा (एकीकृत समाजवादी) कोशी प्रदेश कमिटीले जनजीविकाका विविध सवालमा प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै आइतबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई १७ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

प्रदेश कमिटीकी अध्यक्ष सरिता खड्काको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले मुख्यमन्त्रीलाई भेटी ज्ञापनपत्र हस्तान्तरण गरेको हो । ज्ञापनपत्रमा तत्काल कार्यान्वयन गर्न सकिने विषयदेखि दीर्घकालीन योजना निर्माणमा समेत ध्यान दिन आग्रह गरिएको छ ।

मुख्यमन्त्री कार्कीले ज्ञापनपत्र बुझ्दै प्रदेश सरकारले सम्भव भएका माग तत्काल पूरा गर्ने र अन्य मागहरूलाई क्रमशः कार्यान्वयन गरिने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा सहभागी पूर्वमुख्यमन्त्री तथा पार्टीका नेता राजेन्द्रकुमार राईले अहिलेको समय प्रदेश सरकारले नीति, कार्यक्रम र बजेट बनाउने संवेदनशील चरण भएकाले पार्टीका माग सम्बोधन गर्न उपयुक्त अवसर रहेको धारणा राखे ।

राईले सरकारसमक्ष प्रस्तुत मागहरू जनताको जीवनस्तरसँग प्रत्यक्ष जोडिएका विषयहरू भएकोले तिनको कार्यान्वयनमा गम्भीरता देखाउन आग्रह गरे ।

ज्ञापनपत्रमा संघीयताको कार्यान्वयन, कृषि र उद्योगको विकास, रोजगारी सिर्जना, स्वास्थ्य र शिक्षा सुधार, सामाजिक न्याय, पर्यटकीय प्रवर्द्धन, समावेशी योजना निर्माण, पारदर्शिता, तथा स्थानीय सरकारसँग समन्वयजस्ता विषय समेटिएको छ ।

ज्ञापनपत्रमा प्रदेश नामकरणको विषयमा उठेको पहिचानको आवाजलाई सम्बन्धित पक्षसँग वार्ता र छलफल गरी निकास निकाल्नुपर्ने, मुकुम्लुङ (पाथीभरा) केबलकार निर्माणको विषयमा उत्पन्न विवाद प्रदेश सरकारले स्थानीय सरोकारवाला पक्षसँग छलफल र वार्ता गरी समाधान निकाल्न आवश्यक पहल गर्न पनि भनिएको छ ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले समाजवादी पार्टीले राखेका अधिकांश माग र मुद्दाहरू जायज रहेको बताए । ‘तपाईँहरूले राखेका मागहरू जायज छन्’ उनले भने, ‘प्रदेश सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमका लागि पनि यो माग पत्रले सहयोग गर्नेछ ।’