
झापा । विश्वकै सफल लगानीकर्ता मानिने ९४ वर्षीय अरबपति वारेन बफेटले बर्कशायर हैथवेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।
कम्पनीको वार्षिक बैठकमा बफेटले उपाध्यक्ष ग्रेग एबललाई यसैवर्षको अन्त्यदेखि कम्पनीको बागडोर सुम्पिने बताएको बीबीसीले जनाएको छ ।
विफल टेक्सटाइल कम्पनीबाट शुरु भएको बर्कशायर हैथवेलाई बफेटले एक ठूलो लगानी कम्पनीमा रूपान्तरण गरेका हुन । जसको अहिलेको मूल्य झन्डै एक दशमलव १६ ट्रिलियन डलर रहेको छ ।
कम्पनीले गेको, ड्यूरासेल, डेयरी क्वीनलगायत ६० भन्दा बढी कम्पनीको स्वामित्व राखेको छ, साथै एप्पल, कोकाकोला, बैंक अफ अमेरिका र अमेरिकन एक्सप्रेसजस्ता कम्पनीमा ठूलो लगानी छ । ब्लूमबर्गका अनुसार, बफेटको सम्पत्ति अहिले १५४ अर्ब डलर रहेको छ, जसका आधारमा उनी विश्वकै चौथो धनी व्यक्ति हुन ।