
काठमाडौं । सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सङ्घीय संसदमा शुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन् ।
सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार संयुक्त बैठकको सम्भावित कार्यसूची तय भएको छ । सत्ता साझेदार दलहरुबीच अर्थतन्त्रलाई थप चलायनमान बनाउने गरी नीति तथा कार्यक्रम ल्याउने विषयमा छलफल भइसकेको छ ।
नीति तथा कार्यक्रममा युवामा आशा जगाउने, उद्यमशीलता, सीप विकास, स्टार्टअप, व्यावसायिक योजना, सरकारको खर्च वृद्धि गर्ने र सुशासन कायम गर्ने विषयमा सरकारको नीति तथा कार्यक्रम केन्द्रित हुने विश्वास लिइएको छ ।
सङ्घीय संसद् सचिवालयले यही वैशाख २२ देखि २८ गतेसम्म सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यसूची यसअघि नै तय गरिसकेको छ । वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल शुरु हुनेछ । प्रि–बजेट छलफलका रूपमा त्यसलाई लिइएको छ ।