
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ३ महिनाको अवधिमा ४ सचिव र २ सहसचिवसहित ३८ अधिकृतको सरुवा भएको छ ।
माघ १ देखि चैत मसान्तसम्म प्रधानमन्त्री कार्यालयमा एक सचिव सरुवा भएर आउँदा २ सहसचिव अन्यत्र गएका छन् ।
सचिव कृष्णहरी पुस्कर, सेवा लम्साल र सुमनराज अर्याल ३ महिनाको अवधिमा बाहिरिएका छन् । पुस्कर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय गएका छन् । परराष्ट्र सचिव भएर गएकी लम्साल राजदूतमा नियुक्त भइसकेकी छन् । यस्तै सुमनराज अर्याल राष्ट्रिय योजना आयोगको सचिवको जिम्मेवारीमा छन् ।
कर्णाली प्रदेशको प्रमुख सचिवबाट सरुवा भई आएका चुणामणि पौडेल शासकीय मामिला क्षेत्रको जिम्मेवारीमा छन् । सहसचिव हेमराज अर्याल र टंकनाथ लम्साल पनि प्रधानमन्त्री कार्यालयमा सरुवा भएर आएका छन् ।
त्यस्तै ६ जना उपसचिव भित्रिँदा ५ जना बाहिरिएका छन् । ६ जना शाखा अधिकृत यहाँ आएका छन् भने ११ जना सरुवा भई गएका छन् । एकजना कम्प्युटर अपरेटर प्रधानमन्त्री कार्यालयमा सरुवा भएर आउँदा २ जना नायव सुब्बा र एकजना कम्प्युटर अपरेटर अन्यत्र गएका छ्न् ।
प्रधानमन्त्री कार्यालयका अनुसार सहसचिव प्रेमशरण श्रेष्ठ, उपसचिव मञ्जु शर्मा र राजमणि दाहाल अनिवार्य अवकाश तथा राजीनामापछि सेवा निवृत्त भएका छन् ।