२०८२ वैशाख १७, बुधवार , ०७:३३:५४ बजे

Sajhamanch
'

अमेरिकी राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालको १०० दिन पूरा

बुधवार, वैशाख १७, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको १०० दिन पूरा गरेका छन् । कार्यकालको १०० दिन पूरा भएको अवसरमा राष्ट्रपति ट्रम्पले आफ्ना उपलब्धिहरू दाबी गर्दै चुनावी अभियानकै शैलीको भाषण गरेको बीबीसीले जनाएको छ ।

मिशिगनमा समर्थकहरूको भीडमा बोल्दै ट्रम्पले गहिरो परिवर्तनका लागि आफूले राष्ट्रपति पदलाई प्रयोग गरिरहेको दाबी गरे । उनले आफ्ना पूर्ववर्ती जो बाइडनको खिल्ली उडाउनुका साथै अमेरिकी केन्द्रीय बैंकका प्रमुख जेरोम पावेलको पनि आलोचना गरेका छन् ।

यद्यपि १०० दिन पूरा भएको सन्दर्भमा भएको एक सर्वेक्षणानुसार ट्रम्पको अनुमोदन दर खस्किएर ४४ प्रतिशतमा झरेको छ । १०० दिने कार्यकालमा आधाभन्दा कम नागरिकको समर्थन प्राप्त गर्ने अमेरिकी राष्ट्रपतिहरूमा ट्रम्प दोस्रो विश्वयुद्धपछिका एकमात्र राष्ट्रपति बनेका छन् । तर ट्रम्पले आफ्नो लोकप्रियता घटेको देखाउने जनमत सर्वेक्षण झुटो भएको दाबी गरे।

डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि गैरकानूनी रूपमा अमेरिका प्रवेश गर्ने आप्रवासीको सङ्ख्यामा उच्च गिरावट आएको छ । ट्रम्पको दोस्रो कार्यकाल शुरू भएपछि झन्डै ६५ हजार ७०० जना आप्रवासीलाई निष्कासन गरेको ह्वाइट हाउसले जनाएको छ ।

तर अर्थतन्त्र उनका लागि सम्भावित राजनीतिक जोखिम बनेको छ । उनको नीतिहरूका कारण विश्वव्यापी व्यापार युद्ध निम्तिएको छ । ट्रम्पले आयात शुल्क बढाएपछि अमेरिकाकै आर्थिक वृद्धि सबैभन्दा धेरै खस्किने अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) को प्रक्षेपण छ ।

सम्बन्धित खबर