
काठमाडौं । जलवायु परिवर्तनले धेरै तरिकाले चुनौती थपिरहेको छ । समयसँगै यसको अर्को नयाँ प्रवृत्ति पनि देखापरेको छ, त्यो हो तापक्रममा छिटो–छिटो हुने परिवर्तन ।
पछिल्लो वैज्ञानिक अध्ययनबाट के पत्ता लागेको छ भने संसारभर छोटो समयको अन्तरालमै गर्मीबाट जाडो र जाडोबाट गर्मी हुने घटनाहरू बढ्दै गएका छन् ।
चीन, अमेरिका र क्यानडाका विभिन्न संस्थासँग सम्बद्ध वैज्ञानिकहरूले गरेको अध्ययनको निष्कर्षको आधारमा मौसममा अचानक आउने यस्तो परिवर्तनलाई ‘र्यापिड टेम्प्रेचर फ्लिप्स’नाम दिइएको छ ।
यदि विश्वको तापक्रम यसरी छोटो–छोटो समयमा परिवर्तन भइरहे नेपालजस्ता कमजोर राष्ट्रहरू बढी प्रभावित हुनेछन् । किनकी छोटो समयमै अत्यधिक गर्मीबाट अत्यधिक चिसो वा चिसोबाट अत्यधिक गर्मी हुँदा बदलिँदो मौसम अनुसार अनुकूलन हुन गाह्रो हुन्छ ।
यस्ता परिवर्तनले मानव समाजसँगै प्रकृतिमा पनि नकारात्मक प्रभाव बढ्छ । यसले स्वास्थ्य, पूर्वाधार, वनस्पति, कृषि लगायत सबै क्षेत्रमा नकारात्मक असर पर्ने वैज्ञानिकहरुको निष्कर्ष छ ।
यो अध्ययन रिपोर्ट अन्तर्राष्ट्रिय जर्नल ‘नेचर कम्युनिकेसन्स’मा हालै प्रकाशित भएको छ । सो रिपोर्टमा लेखिए अनुसार वैज्ञानिकहरूले १९६१ देखि २०२३ को बीच तापक्रममा आएका परिवर्तनहरूसँग सम्बन्धित तथ्यांकहरूको विश्लेषण गरेका थिए । यी तथ्यांकहरू पाँच दिनभित्र सामान्य तापक्रमबाट आएका उतारचढावमा आधारित थिए ।
त्यसको विश्लेषणबाट विगत ६ दशकमा संसारको ६० प्रतिशतभन्दा बढी क्षेत्रमा तापक्रममा अचानक हुने यस्ता परिवर्तनहरूको आवृत्ति, तीव्रता र गति बढेको निष्कर्ष वैज्ञानिकहरुले निकालेका छन् ।
यसको सबैभन्दा ठूलो असर दक्षिण अमेरिका, पश्चिमी युरोप, अफ्रिका, दक्षिण एसिया र दक्षिण–पूर्वी एसियामा देखिएको छ ।
चीन, अमेरिका र क्यानडाका विभिन्न संस्थासँग सम्बद्ध वैज्ञानिकहरूले गरेको अध्ययन भनिए पनि यस अध्ययनमा नेपालबारे कुनै प्रसंग उल्लेख छैन । यद्यपि दक्षिण एशियामा पनि असर देखिएको भनिएकाले यस क्षेत्र भित्र नेपाल पर्छ । त्यसैले चरम मौसमी घटनाबाट नेपाल अछुतो रहन सक्दैन ।
केही उदाहरण
सन् २०१२ को मार्चमा उत्तर अमेरिकामा तापक्रममा अचानक ठूलो परिवर्तन भएको थियो । त्यहाँ तापक्रम सामान्यभन्दा १० डिग्री सेल्सियस बढेपछि, एक हप्तामै ५ डिग्री सेल्सियसले घटेको थियो । यस परिवर्तनले बालीहरूमा चाँडै फूल आउन थालेको थियो, तर त्यसपछि परेको हिमपातले बालीहरूमा ठूलो क्षति पुर्याएको थियो ।
त्यस्तै रकी पर्वतहरूमा भीषण गर्मीपछि तापक्रम अचानक २० डिग्री सेल्सियसभन्दा बढी घटेको थियो, जसका कारण भारी हिमपात भई विद्युत आपूर्ति अवरुद्ध भएको थियो । त्यसबाट मानिसहरूले ठूलो कठिनाइ भोग्नुपरेको थियो ।
यस्तै घटना सन् २०२१ को अप्रिलमा युरोपमा पनि देखिएको थियो । त्यतिबेला पनि तापक्रम अचानक गर्मीबाट चिसोमा बदलिँदा हिमपात भएको थियो र बालीहरूमा ठूलो क्षति पुगेको थियो ।
चरम मौसमी घटनाको तीव्रता र प्रभाव अझै बढ्ने चेतावनी
वैज्ञानिकहरूले अभिलेखित तथ्यांक र जलवायु मोडेलहरूको मद्दतले भविष्यमा दीर्घकालसम्म हुनसक्ने परिवर्तनहरूको पनि अध्ययन गरेका थिए । वैज्ञानिकहरूले जलवायु परिवर्तनका विभिन्न परिदृश्यहरूमा शताब्दीको अन्त्यसम्म कति परिवर्तन आउन सक्छ भनेर सो अध्ययन गरेका थिए ।
यस अध्ययनको आधारमा वैज्ञानिकहरूले यदि हरितगृह ग्यासहरूको उत्सर्जन अहिलेकै दरमा बढिरहेमा शताब्दीको अन्त्यसम्म चरम मौसमी घटनाको तीव्रता र प्रभाव अझै धेरै बढ्न सक्ने निष्कर्ष निकालेका छन् । साथै गर्मी र चिसोबीच आउने परिवर्तनको समय अवधि पनि घट्ने निष्कर्ष निकालेका छन् ।
वैज्ञानिकहरूले विश्वभरको तापक्रममा अचानक आउने परिवर्तनहरूको प्रभाव १०० प्रतिशतभन्दा बढीले बढ्नसक्ने निष्कर्ष निकालेका छन् ।
नेपाल जस्ता कमजोर राष्ट्रहरूका मानिसहरू यस्ता परिवर्तनहरूको मारमा पर्ने खतरा विश्वका अरु विकसित देशहरुको तुलनामा ४ देखि ६ गुणा बढी हुनसक्ने वैज्ञानिकको निष्कर्ष छ ।
यस अवस्थामा, अनुसन्धानकर्ताहरूले तापक्रममा अचानक आउने परिवर्तनहरूबाट जोगिने क्षमता ठूलो जनसंख्या बसोबास गर्ने विकासोन्मुख राष्ट्रहरुमा सुदृढ गर्न आवश्यक रहेकोमा जोड दिएका छन् ।