
झापा । दुई छिमेकी देश भारत र पाकिस्तानबीचको सम्बन्ध थप बिग्रिएको छ । विगतदेखि नै राम्रो सम्बन्ध नभएका यी दुई देशबीच जम्मू–कश्मीरमा भएको आक्रमणपछि सम्बन्ध थप चिसिएको हो । पाकिस्तानले ‘सीमा–पार आतङ्कवाद’ लाई समर्थन गरिरहेको भारतको आरोप छ ।
अस्ति मङगलवार जम्मू–कश्मीरको पहलगाममा पर्यटकमाथि भएको आक्रमणमा भारतले पाकिस्तानलाई गम्भीर आरोप लगाउँदै कडा प्रतिक्रिया जनाएको छ । साथै कडा कूटनीतिक कदम सार्वजनिक गरेको छ ।
विदेश सचिव विक्रम मिस्रीले पत्रकार सम्मेलनमार्फत भारतले सन् १९६० मा गरिएको ‘इन्डस जल सम्झौता’ तत्काल स्थगित गर्ने निर्णय गरेको जानकारी दिए।
सिन्धु जल सन्धिका रुपमा चिनिने यो सम्झौता सफल अन्तर्राष्ट्रिय सन्धिका रूपमा लिइन्छ । दुई देशबीच पटक–पटक युद्ध हुँदा पनि यो सन्धिमा असर पर्ने गरेको थिएन । जबसम्म पाकिस्तानले सीमा–पार आतङ्कवादप्रति समर्थन त्याग गर्दैन, तबसम्म यो सम्झौता स्थगित रहने उनले बताएका छन् ।
इन्डस जल सम्झौताले भारत र पाकिस्तानलाई तीन–तीन वटा हिमाली नदीहरूको अधिकार प्रदान गर्दै जल उपयोग तथा सिँचाइका लागि व्यवस्था मिलाएको थियो ।
सम्झौता कार्यान्वयन गर्न इन्डस आयोग पनि स्थापना गरिएको थियो, जसले उत्पन्न समस्याहरूको समाधान गर्ने जिम्मेवारी पाएको थियो ।
साथै, भारतले पाकिस्तानसँगको मुख्य स्थल सीमा अटारी–वाघा नाका तत्काल बन्द गर्ने निर्णय गरेको छ । यद्यपि, वैध यात्रा कागजात भएका व्यक्तिहरूलाई ‘मे’एक तारिख अर्थात अबको एक हप्ता अगाडि फर्किन छुट दिइएको छ ।
यो सीमा नाका प्रतीकात्मक रूपमा निकै महत्त्वपूर्ण मानिन्छ, जहाँ हरेक बेलुका भारत–पाकिस्तानका सैनिकहरूबीच हुने परेडले दुई देशबीचको प्रतिस्पर्धालाई दर्शाउने गर्छ ।
भारतले नयाँ दिल्लीको पाकिस्तान दूतावासका रक्षा सल्लाहकार र अन्य सैन्य अधिकारीलाई एक हप्ताभित्र भारत छोड्न निर्देशन दिएको छ ।
त्यस्तै पाकिस्तानमा रहेका आफ्ना रक्षा, नौसेना र वायुसेना सल्लाहकारहरूलाई पनि भारतले फिर्ता बोलाउने भएको छ । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले आज राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाएका छन् ।
पहलगाममा पर्यटकमाथि भएको आक्रमणमा एक नेपालीसहित कम्तीमा २६ जनाले ज्यान गुमाएका छन् ।