
काठमाडौं । आजदेखि विश्व खोप सप्ताह शुरू भएको छ । यसवर्ष ‘सबैका लागि खोप मानव रूपमा सम्भव छ’ नाराका साथ खोप सप्ताह मनाइँदैछ ।
विश्व खोप सप्ताहको मुख्य उद्देश्य आवश्यक सबै उमेरका मानिसलाई रोगबाट जोगाउनु तथा खोपको प्रयोगलाई प्रवर्द्धन गर्नु हो ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार विगत ५० वर्षमा खोपका कारण १५ करोड ४० लाख जीवन जोगिएको छ ।
शिशुको बाँच्ने अवस्थामा ४० प्रतिशतले योगदान पुगेको तथा बचाइएका जीवनको ६० प्रतिशत हिस्सा दादुरा खोपले ओगटेको अवस्था छ ।
बालकदेखि वृद्धसम्मलाई रोगप्रतिरोधात्मक क्षमतायुक्त बनाउने विभिन्न खोपले औलो, इन्फ्लुएन्जा, गर्भवतीलाई टिटानस, किशोरीलाई एचपीभीबाट जोगाउँछ ।
त्यस्तै आज ‘इन्टरनेश्नल गर्ल्स आईसीटी डे’ पनि परेको छ । खोप सप्ताह र इन्टरनेश्नल गर्ल्सआइसीटी डे संयुक्त राष्ट्रसङ्घको आह्वानमा हुने गरेको छ ।
सूचना प्रविधिको क्षेत्रमा छोरीहरु र महिलालाई पनि समान अवसर दिनुपर्नेमा जोड दिएर हरेक वर्ष अप्रिलको चौथो बिहीवार छलफल र कार्यक्रम गर्ने गरिएको छ ।
त्यस्तै अन्तर्राष्ट्रिय बहुपक्षीयता र शान्तिका लागि कूटनीति दिवस पनि आजै परेको छ । यो दिवस सन् २०१८ देखि मनाउन थालिएको हो ।
अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाप्रतिको प्रतिबद्धतालाई दोहोर्याउँदै विश्वका एक सय ४४ देशका सरकार प्रमुख एवम् प्रतिनिधिले अन्तर्राष्ट्रिय बहुपक्षीयता दिवस मनाउने प्रस्ताव गरेका थिए ।